
सुर्खेत । कर्णाली प्रदेशमा विद्युत् पहुँच विस्तारको दिशामा ऐतिहासिक उपलब्धि हासिल भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन अनौपचारिक रूपमा सञ्चालनमा गर्नुभएको छ ।
यो सँगै अब दैलेख हुँदै जुम्लासम्म १३२ केभी प्रसारण लाइन विस्तार हुने बाटो खुलेको छ । सुर्खेत उपत्यकामा आज साँझदेखि १३२ केभी नियमित रूपमा विद्युत् आपूर्ति सुचारू हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
कार्यकारी निर्देशक शाक्यले १३२ केभी प्रसारण लाइन केवल तार र पोलको संरचना मात्र नभई कर्णालीको सपना, विकास र सम्भावनासँग जोडिएको उज्यालो भविष्यको आधार भएको उल्लेख गर्नुभयो । उहाँले कर्णालीको उज्यालो यात्राको नयाँ अध्याय सुरु भएको बताउँदै यसले प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्राधिकरणका अनुसार दैलेख खण्डको प्रसारण लाइन १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ भने कालिकोट–जुम्ला प्रसारण लाइनको प्रक्रिया पनि सुरु भइसकेको छ ।
वर्षौ देखि लो–भोल्टेज र अनियमित विद्युत् आपूर्तिका कारण समस्यामा परेका कर्णालीवासीका लागि यो उपलब्धि ऐतिहासिक मानिएको छ । लामो समयसम्म अन्धकार र विद्युत् अभावको पीडा भोग्दै आएका स्थानीयवासीले अब उज्यालोतर्फ लम्किने आशा बोकेका छन् । १३२ केभी प्रसारण लाइन सञ्चालनमा आए सँगै कर्णाली प्रदेशमा औद्योगिक विकास, सेवा सुविधा विस्तार र जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।



Prawash Kumar Shakya । १८ माघ २०८२, आईतवार १५:५७ बजे