ट्याटु कोर्दै हुनुहुन्छ ? छालामा क्यान्सर हुन सक्छ


काठमाण्डौं, १४ जेठ । टयाटु यतिबेला युवायुवतीका लागि फेसन बनिसकेको छ ।

टयाटुकै विषयलाई लिएर कतिपय युवायुवतीमा प्रतिस्पर्धा समेत चलेको सहजै देख्न सकिन्छ । तर युवाहरु टयाटुले निम्त्याउनसक्ने खतरातर्फ भने सचेत छैनन् । युवाहरुमाझ टयाटु जति नै लोकप्रिय भए पनि यसले गम्भीर समस्या सिर्जना गर्नसक्छ ।
टयाटुले छालामा संक्रमण हुनुका साथै विभिन्न किसिमका ब्याक्टेरिया इन्फेक्सन हुन्छ । जसले गर्दा छालामा एलर्जी हुने जस्ता समस्या उत्पन्न हुन्छ ।

टयाटुले हाम्रो स्वास्थ्यमा पार्नसक्ने केही असरहरु निम्नप्रकार छन् :

छाला रोग र क्यान्सर

टयाटु बनाउनाले सोराइसिस जस्ता रोगको खतरा हुन्छ । टयाटु कोर्ने सामग्रीहरु धेरै मानिसहरुमा प्रयोग हुने गर्दछ । जसले छाला रोग, हेपेटाइटिस र एचआईभी जस्ता रोगको खतरा कायम रहन्छ । टयाटुले त्वचाको क्यान्सर हुने सम्भावना पनि प्रबल हुन जान्छ ।


विषालु तत्वले खतरा

टयाटु बनाउनका लागि प्रयोग गरिने स्याहीमा विभिन्न किसिमका विषयुक्त तत्व हुन्छ । जसले त्वचा क्यान्सर समेत निम्त्याउन सक्छ । टयाटु बनाउन प्रयोग गरिने निलो रँगको स्याहीमा कोबाल्ट र अलमुनियम हुन्छ भने रातो रँगको स्याहीमा मरक्युरियल सल्फाइड र अर्को रँगको स्याहीमा शीशा, क्याडियम, क्रोमियम, निकल, टाइटेनियम जस्ता धातुहरु हुन्छ । जसले त्वचामा एलर्जी हुने गर्दछ ।

मांसपेशिलाई हानी

युवायुवतीहरु टयाटुले त्वचामा हुने असरबारे सचेत छैनन् । विभिन्न शैलीका टयाटु बनाउँदा सूईलाई शरीरमा गहिरोसम्म घोप्ने गरिन्छ जसले मांसपेशिलाई समेत हानी पुर्याउँछ । चिकित्सकहरुका अनुसार शरीरमा कोठी भएको स्थानमा टयाटु कहिल्यै बनाउनु हुँदैन ।

साभार : हाम्रो डाक्टर अनलाइन