नागरिकको स्वास्थ्य ठिक नभए सम्म देश स्वस्थ हुन सक्दैनः राज्यमन्त्री रावत (भिडियो सहित)


१२ मंसीर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको ९ नं. वडा लाटीकोइली स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्दै आज १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।

नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले एक समारोहका वीच आज लाटीकोइलीमा १५ शैयाको नगर अस्पतालको शिलान्यास गर्नुभएको हो ।

नेपाल सरकारको ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजना अनुसार आज नेपालमै पहिलो पटक वीरेन्द्रनगरमा १५ शैयाको नगर अस्पतालको शिलान्यास गरिएको राज्यमन्त्री रावतले बताउनुभयो ।

मैले कर्णालीको विकासकालागि धेरै पटक सदनमा कुरा उठाउँदै आएकोछु । राज्यमन्त्री रावतले भन्नुभयो । तत्कालिन मध्यपश्चिम क्षेत्रीय अस्पताललाई सं‍घीय सरकार मै राखौं भनेको हुँ तर मलाई यस्तो भनिरहँदा संधीयता विरोधी भनियो । मैले यो क्षेत्रको विकासकोलागि नै अहिलेको प्रदेश अस्पताललाई संघीय सरकारमा राखौं भनेको हुँ ।

प्रदेश अस्पतालका सेवा सुविधा दक्ष जनशक्ति बढाउन म प्रदेश सरकारलाई अनुरोध गर्दछु । राज्यमन्त्री रावतले भन्नुभयो । नागरिकको स्वास्थ्य ठिक नभए सम्म देश स्वस्थ हुन सक्दैन् । त्यसैले सरकार यो अभियानमा जुटेको छ । यस्को शुरुवात वीरेन्द्रनगर नगरपालिकाले शुरु गरेको छ । राज्यमन्त्री रावतले भन्नुभयो । तपाइहरु ढुक्क रहनुस यो काममा सरकारका तर्फबाट कुनै कमिहुन दिइने छैन ।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमारी सुबेदीले लाटीकोइलीमा बनाइने नगर अस्पताल संगसंगै नगरपालिकाले मंगलगढी काँक्रेविहार सडकलाई पनि उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने बताउनुभयो ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नगरका सोह्रै वडामा आफ्नै स्वास्थ्य चौकी भवन संचालन हुने बताउनुभयो । उहाँले भन्नुभयो । स्वास्थ्य सेवालाई प्राथमिकता राखेर वीरेन्द्रनगरलाई नमुना शहर बनाइने छ ।

त्यस्तै कार्यक्रमका सभापती ९ न‌ं. वडा अध्यक्ष सुरेश माैनन्धरले लाटीकोइलीमा नगर अस्पताल बनाउने सहयोग गर्नुहुने सबैलाई धन्यवाद गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धर, नेपाली काँग्रेस डम्मरबहादुर जिसी, नेकपाका गणेश वली, स्थानीय समाजसेवी ध्रुवकुमार श्रेष्ठ र पूर्व जिविस सभापती बालकृष्ण विसीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा नगरअस्पताल निर्माणकाक्रममा जग्गा कमि भएमा आवश्यक जग्गा दिन लिखित सहमत गर्नुहुने स्थानीय एकदेव गिरी, गोविन्द गिरी र श्यामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रम सहजीकरण वीरेन्द्रनगर नगरपालिका नगर स्वास्थ्यका भूपेन्द्रदेव गिरीले गर्नुभएको थियो ।