
सबै कमिटीमा अध्यक्ष र सचिव पदाधिकारी, ४४१ को हस्ताक्षर आज बुझाइँदै
१४ जेठ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत बढीमा ३३ देखि ३५ वटा विभाग प्रस्ताव गरिएको छ । पार्टीको नियमावली मस्यौदामा तत्कालिन एमालेले अभ्यास गरेको ढाँचा अनुसार विभागहरु बनाउने प्रस्ताव गरिएको हो ।
बेदुराम भुसाल र खिमलाल देवकोटाको उपसमितिले तयार पारेको पार्टी सञ्चालन नियमावली महासचिव बिष्णु पौडेल नेतृत्वको समितिमा पेश भएको छ । समितिमा छलफलपछि केही थपघट गर्न पुन भुसाल उपसमितिलाई दिइएको स्रोतले जनाएको छ ।
उपसमितिले जेठ १८ गते अन्तिम मस्यौदा बुझाउनेछ ।
नियमावली मस्यौदा गर्न केन्द्रीय सचिवालयले महासचिव पौडेलको संयोजकत्वमा देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।
समितिको आइतबारको बैठकमा नियमावली मस्यौदामाथि छलफल भएको र केही हेरफेर गर्न सुझाव आएको भुसालले बताए ।
नेकपाका विभागहरुमा प्रमुख, उपप्रमुख र सचिव तीन पदाधिकारीसहित ३० बढी सदस्य हुने निमावलीमा व्यवस्था गरिँदैछ । विभागमा प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीले तोक्नेछ । विभागको सचिव भने सदस्यहरुमध्येबाट चयन गरिने नियमावलीमा उल्लेख छ ।
ओली बाहेक सबैलाई एक व्यक्ति एक पद
नेकपाले विधान र निमायवलीमा रहेको एक व्यक्ति एक पदको अवधारणालाई कडाइका साथ लागु गर्ने भएको छ । राज्यको कार्यकारी पदमा रहेका व्यक्ति पार्टीको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहन नपाउने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।
तर, प्रधानमन्त्रीको हकमा यो व्यवस्था लागु हँुदैन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री अेाली बाहेक अन्य नेताको हकमा एक व्यक्ति एक पदको सिद्धान्त लागु हुने एक नेताले बताए ।
प्रदेश सरकारका मुख्यमन्त्री, संघीय सरकारका मन्त्री, स्थानीय तहका प्रमुखहरु प्ाार्टी कमिटीको प्रमुख कार्यकारी हुन पाउने छैनन् ।
त्यतिमात्र होइन, पार्टीको एउटा कार्यकारी कमिटीमा रहेको व्यक्ति अर्को कार्यकारी कमिटीमा बस्न नपाउने व्यवस्था गरिएको मस्यौदा कार्यदलका एक सदस्यले बताए । उनले भने-उदाहरणको लागि केन्द्रीय सदस्य रहेको व्यक्ति जिल्ला वा अन्य कमिटीको अध्यक्ष हुन पाउँदैन । एकजना मान्छे एकपटकमा एक भन्दा धेरै कार्यकारिणीमा नबस्ने व्यवस्था बिधानमै छ ।’
प्रदेश कमिटीको हकमा भने यो पहिलो पटक गठन हुन लागेकाले के गर्ने भन्ने छलफल हुँदैछ ।
भूगोल कमिटीको अध्यक्ष वा इन्चार्ज भएको व्यक्ति विभागको प्रमुख वा इन्चार्ज बन्न नपाउने व्यवस्था गरिएको छ । नेकपाका सबै कार्यकारी कमिटीमा अध्यक्ष र सचिव रहने व्यवस्था गरिएको छ ।
केन्द्रीय कमिटीमा अध्यक्ष, दुई बरिष्ठ नेता, महासचिव र प्रवक्ता विधानमै तोकिएको छ । तर प्रदेश, स्थानीय तह, वडा कमिटीदेखि प्रारम्भिक कमिटीसम्म पार्टी एकता गर्दा अध्यक्ष र सचिव दुईमात्र पदाधिकारी रहनेछन् । अधिवेशनबाट मात्र बहुपदमा जानेछन् ।
जनसंगठनहरुको हकमा भने सम्वन्धित कमिटीको विधान अनुसार पदाधिकारी व्यवस्था गर्न स्वतन्त्र हुनेछन् । पार्टी केन्द्रीय सदस्य रहेको व्यक्ति पनि आवश्यकता परेमा जनसंगठनको अध्यक्ष हुन सक्ने बाटो खुला गरिएको छ ।
प्रदेश कमिटीहरुको एकीकरणका लागि सातै प्रदेशमा कार्यदल गठन गरिएको छ । कार्यदलका सदस्यहरुको नाम महासचिव पौडेलले सम्भवतः सोमबारै सर्कुलर मार्फत पठाउनेछन् ।
प्रत्येक प्रदेशमा तत्कालिन एमालेका संयोजक र सहसंयोजक र तत्कालीन माओवादीका इन्चार्ज र सहइन्चार्ज रहेको कार्यदलले प्रदेश कमिटीहरुको एकीकरण प्रस्ताव गर्नेछ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका ४४१ सदस्यको आधिकारिक नामावली निर्वाचन आयोगमा आज पेश हुने भएको छ । केन्द्रीय कमिटी बैठकको मान्युट र हस्ताक्षरसहित आधिकारिक नाम बुझाउन लागिएको हो ।अनलाइनखबरबाट
Milan Shrestha । १४ जेष्ठ २०७५, सोमबार ०५:२१ बजे