सुन्तलीको संघर्षः चापागाउँ, सिंहदरबार हुँदै मुसहर वस्तीसम्म


बुहारी, आमा र श्रीमतीका रुपमा तीन सुझाव

suntali_810खप्तड स्वामीले भनेका छन्, ‘सफलताका लागि तीन कुरा चाहिन्छ, आत्माविश्वास, लगनशीलता र निरन्तर अभ्यास ।’

यस्तो लाग्छ, सुन्तली उर्फ कुञ्जना घिमिरे यसैको सुत्राधार हुन् । कुञ्जनाले आजको बिन्दुसम्म आइपुग्न गरेको संघर्षको फेहरिस्थ पल्टाउने हो भने, त्यो कुनै आदर्श कथाजस्तो लाग्न सक्छ । तिलस्मी फिल्मी कहानीजस्तै ।

बिहाइन्ड द सीन

ललितपुरको चापागाँउमा हुर्किएकी एउटी किशोरी, जो नाच्न-गाउन मरिहत्ते गर्छे । विद्यालयमा हुने हरेक कार्यक्रममा सहभागी हुन्छे । पुरस्कार पाउँछे । र, दंग पर्दै बुवालाई देखाउँछे ।

बुवाको ढाडस पाएर उनी आफ्नो दायरा बढाउन खोज्छे, ललितपुरभन्दा परको रंगीन संसार चिहाउने उत्कट अभिलाषा जाग्छ । सार्वजनिक यातायातमा कोचिएर काठमाडौंको कुनै गल्लीमा सिनेमाको अडिसन दिन पुग्छिन् । रेडियो नेपालमा ‘भ्वाइस टेस्ट’ दिन पुग्छिन् ।

कहिले घर फर्कन अबेर हुन्छ, कहिले खल्ती रित्तिन्छ । मध्यरातमा घर र्फकदा छिमेकले चियोचर्चा गर्छन् । तैपनि उनको पाइलाहरु डगमगाउँदैन ।

रेडियो नेपालमा मदनदास श्रेष्ठले ‘भोकल टेस्ट’ लिइसकेपछि रेडियो नाटकको ढोका खुल्छ । त्यहाँ सुरबीर पन्डित, दमन रुपाखेती भेटिन्छन् । उनीहरुसँगको संगत बाक्लिन्छ । दमनले रेडियोमा ‘दिन प्रतिदिन’ नाटक गरिरहेको हुन्छ, जसमा उनले अभिनय गर्न पाउँछिन् । ‘चेतनाका स्वरहरु’मा अभिनय गर्छिन् । ‘वाउन्न घुस्सा, त्रिपन्न ठक्कर’, ‘अपराध’, ‘माटोले माग्दैन आफैले दिनुपर्छ’ हुदै टेलिभिजन स्त्रिmनमा उनको पर्दापण हुन्छ ।

चापागाँउबाट सिंहदरबारसम्मको दुरी छिचोल्न सहज हुन्न । बिना पारिश्रमिक टेलिश्रृंखलामा अभिनय गरेकाले खर्च अभाव हुन्छ । साथीभाईसँग सरसपाट गर्छिन् । आफै एक संस्थामा जागिर खोज्छिन्, मासिक १५ सय रुपैयाँमा ।

एकातिर पढाइ, अर्कोतिर रोजगारी, अनि फेरि करियर । घरकी जेठी छोरी, पारिवारिक दायित्वबोधले थिचेकै छ ।

एकदिन बुवालाई भन्छे, ‘मलाई ५० हजार रुपैयाँ सापटी दिनुहोस्, मसँग २५ हजार छ, थपथाप गरेर स्कुटर किन्छु ।’ एक त सार्बजनिक यातायातमा चढ्दा उनलाई वान्ता हुने, अर्कोतिर केटा यात्रुहरुको दुव्र्यवहार झेल्नुपर्ने ।

शहरभन्दा अलि टाढाकी केटी । सामान्य गेटअपमा अरुले हेपाहा व्यवहार गर्ने । त्यसैले उनी स्कुटर चढि्छन्, हेयर स्टाइल बदल्छिन्, पाइन्ट-टिसर्ट पहिरिन्छिन्, बुवाको सुनको सिक्री मागेर आफ्नो गलामा झुन्ड्याउँछिन् । अब, उनलाई कसले हेप्ने ?

उनको करियरको ग्राफ निरन्तर उकालो चढिरहेको हुन्छ ।

दमन रुपाखेतीले भन्छ, ‘अब एउटा हास्य श्रृंखला बनाउनुपर्‍यो ।’ त्यसको नाम जुराइन्छ, ‘लौन सतायो ।’ आफ्नै संघर्षबाट उठिरहेका सीताराम कट्टेल यही मोडमा भेटिन्छन् । उनीहरु मिलेर ‘लौन सतायो’को डमी तयार गरिन्छ । तर, टेलिभिजनले उक्त डमी ‘रिजेक्ट’ गरिदिन्छ । यसअघि बनाएको ‘देख्नु भो त ?’ को डमी पनि टेलिभिजनले स्वीकार गर्दैन ।

त्यसपछि अर्को डमी तयार गरिन्छ, ‘मेरी बास्सै’ । टेलिभिजनमा ‘पास’ हुन्छ यो । तब उदय हुन्छ, धुर्मुस-सुन्तलीको जोडी ।

श्रीमती सुन्तली

टेलिभिजनको स्क्रिन शेयर गर्दागर्दै सीताराम कट्टेलकी श्रीमती भएकी हुन्, कुञ्जना । ‘अझै पनि धेरैले सोध्छन्, किन सीतारामजीलाई चार बर्षसम्म झुलाएकी भनेर’ कुञ्जना सुनाउँछिन्, ‘किनभने उहाँले मसँग बिहे गर्न चाहे पनि सुरुमा म तयार भइनँ ।’

दर्शकले अनस्क्रिन पति-पत्नीका रुपमा स्वीकारे पनि कुञ्जना चाहँदैन थिइन् सीतारामसँग लगनगाँठो कस्न । किनकि, दुलही बनेर पराई घरको संघार नाघिसकेपछि उनी कसैकी श्रीमती हुनुपर्छ, कसैकी बुहारी हुनुपर्छ, कसैकी भाउजू हुनुपर्छ । र, यसरी आफूलाई फरक भूमिकामा रुपान्तरण गरिसकेपछि आफ्नो कलाकारिता ज्यूँदो रहँदैन । कुञ्जनालाई यस्तै डर थियो ।

तर, सीतारामले उनको मर्म बुझेका थिए । सीतारामाको परिवारमा कुनै असमझदारी थिएन । अन्ततः कुञ्जनाले निर्णय लिइन्, बिहे गर्ने ।

घरको जेठो छोराको बिहे । बाबुआमाको रहर हुन्छ, झ्याइँ-झ्याइँ पञ्चेबाजा बजाएर बुहारी भित्र्याउने । छरछिमेकलाई उदारतापूर्वक भोज खुवाउने । यद्यपि करियरको उत्कर्षमा पुगिरहेकी कुञ्जना-सीतारामसँग बिहेका यी सबै चाँजोपाँजो गर्ने समय थिएन । कहिले महोत्सव, त कहिले बिदेशी स्टेजले उनीहरुलाई भ्याई-नभ्याई बनाउँथ्यो ।

आखिरमा काठमाडौंमै उनीहरुले औपचारिक बिहे गरे । झापास्थित सीतारामको घरमा पनि धुमधाम बिहे गर्ने, भोज खुवाउने इच्छालाई थाँती राखियो । सासू-ससुराले नाइँ-नास्ती गरेनन् ।

बुहारी सुन्तली

चाहे जतिसुकै ठूला स्टार किन नहुन्, जतिसुकै लोकप्रिय किन नहुन्, एउटी नारीले बुहारी बनेर कसैको घरमा टेकिसकेपछि आफ्नो भूमिका फेर्नुपर्ने हुन्छ । कुञ्जना पनि यसको अपवाद होइनन् ।

‘सासू ससुराका अगाडि म सुन्तली होइन, बुहारी नै हुनुपर्छ’ कुञ्जना भन्छिन्, ‘मैले बुहारीकै रुपमा उहाँहरुसँग व्यवहार गर्नुपर्छ ।’

यद्यपि कुञ्जनाका सासू-ससुरा बुझ्छन्, बुहारीको मर्म । कलाकारितामा नेम र फेम पाएकी बुहारीलाई चुल्हो र चौकामा सीमित गर्नुपर्छ भन्ने उनीहरु पनि चाहँदैनन् ।

टेलिभिजनमा ‘सुन्तली’ बनेर हँसाइरहने बुहारीलाई उनीहरु त्यही रुपमा देख्न चाहन्छिन् । तर, एउटा ‘बुहारी-मन’ले कुञ्जनालाई शिथिल बनाइहाल्छ । उनी घर पुगेपछि पुरै पारिवारिक माहौलमा मिसिन्छन् ।

झापामा मूल सडकसँगै जोडिएको छ, सीतारामको घर । आँगनको धारामा कुञ्जना खरानीले भाँडा मस्काइरहेकी हुन्छिन् । बटुवाहरु छक्क पर्दै हेर्छन् । तर, कुञ्जनालाई कति पनि अप्ठ्यारो लाग्दैन । किनभने, उनलाई राम्ररी बोध छ, ‘म एउटी बुहारी पनि हुँ ।’

बुहारी भएपछि सासू-ससुराप्रति श्रद्धा हुनैपर्छ । पारिवारिक दायित्व पूरा गर्नैपर्छ । यस्तो संस्कारले नै परिवारलाई समृद्ध बनाउने कुञ्जनाको बुझाइ छ ।

आमा सुन्तली

‘छोरीले हरेक दिन नयाँ शब्द बोलिरहेकी हुन्छिन्, हरेक दिन नयाँ हाउभाउ सिकिरहेकी हुन्छिन् । तर, छोरीको यो परिवर्तनलाई हामीले हेर्न पाइरहेको छैनौं । उनले हामीलाई खोज्दा हुन्, हामी पनि उनलाई छातीमा अंगाल्न चाहन्छांै, काखमा खेलाउन चाहन्छौं’ यसो भनिरहँदा कुञ्जना भावुक हुन्छिन् ।

स्टेज कार्यक्रमको धपेडी, देश-विदेशको भ्रमण, समाज सेवाको कामले कुञ्जनालाई यति बेफुर्सदिलो बनाएको छ कि, आफ्नै कोखको नावालक छोरी खेलाउने रहर थाँती राख्नुपरेको छ ।

छोरी दिनदिनै हुर्कँदै छ । उनको बालसुलभ चञ्चलतालाई आमाको आँखाबाट नियाल्न चाहन्छिन्, कुञ्जना । तर, परिस्थिति मिल्दो छैन । भोलि त यो सबै कुरा गुज्रिसक्छ ।

जब अरुका बच्चाहरु खेल्छन्, त्यसमा उनी आफ्नी छोरीको प्रतिछाँया देख्छिन् । उनको कोमल मन पग्लिन्छ । ‘मुसहर बस्तीमा सानै उमेरमा बच्चा जन्माएकी आमाहरु छन्, उनीहरुको बच्चाले आमाको दूध पर्याप्त मिल्दैन । पोषण पुगेको छैन’ कुञ्जना भन्छिन्, ‘ती बच्चाहरु देख्दा म आफ्नै बच्चा सम्झन्छु र साह्रै माया लाग्छ ।’

कुञ्जनाले ती मुसहर बच्चाहरुका लागि दूध, ल्याक्टोजिन र लिटोको व्यवस्था गराइदिएकी छिन् । एक स्वयंसेवक बहिनी यस काममा खटिएकी छिन् । उनले ती बच्चाहरुलाई आवश्यक खानेकुरा ख्वाउँछिन् ।

‘अरु बच्चालाई ख्वाउन पाउँदा, स्याहार्न पाउँदा पनि मन अलि हल्का हुने रहेछ ।’ कुञ्जना भन्छिन् ।

आफ्नो काखको बच्चासँग बाल्यकाल बिताउन नपाउनु पनि आफंैमा पीडादायी क्षण हो । अब कहिल्यै फर्केर नपाइने त्यही क्षण गुमाइरहेकी छिन् कुञ्जना ।
‘एउटा पुरुषले शारीरिक संघर्ष कुनै महिलाले भन्दा बढी गरेका होलान्’ कुञ्जना भन्छिन्, ‘तर महिलाले गर्नुपर्ने मानसिक संघर्ष त्यो भन्दा धेरै कठिन छ ।’

जब सीतारामजी फुरुङ्ग भए

भूकम्पले थिलथिलो भएपछि कुञ्जना र सीतारामले निर्णय लिए, ‘अब हसाँउने मात्र होइन, दुख पाइरहेकाहरुको आँशु पुछिदिनुपर्छ ।’

उनीहरु निस्किए, काभ्रेतिर । भूकम्पले तहस-नहस बस्ती बनाउन कस्सिए । तर, त्यसबेला ‘धुर्मुस-सुन्तली फाउन्डेसन’ स्थापना भएको थिएन । मिडियामा उनीहरुको कामको चर्चा थिएन । धेरैलाई उनीहरुले गरिरहेको कामबारे जानकारी थिएन ।

त्यसैले मन भए पनि पुग्दो पैसा थिएन, ढलेका घरहरु उठाउन । त्यहीबेला पानी पथ्र्यो, दिनभरको काममा बाधा । पानी परेर काम रोकिदा अनावश्यक खर्च बढ्थ्यो । एक रात पालमुनि सुतिरहेका उनीहरुले सल्लाह गरे, ‘हामीले गरिरहेको काम पूरा भएन भने के गर्ने होला ? हामी पछि सर्‍र्यौं भने राम्रो हुँदैन ।’

त्यही रात कुञ्जनाले भनिन्, ‘हामीले कलाकारिता गरेको त्यै एउटा घर छ, त्यो घर बेचेर आवश्यक खर्च जुटाउँला नि ।’

त्यसबेला सीताराम यति खुसी भए कि, जो कुञ्जना शब्दमा व्यक्त गर्न सक्दिनन् ।

कुञ्जनाका तीन सुझावः

१. म बुहारी हुँ । तर, मैले गरेको कुनै पनि काममा सासु-ससुराले बन्देज लगाउनुभएको छैन । उहाँहरु मप्रति एकदमै सकारात्मक हुनुहुन्छ । तर, त्यसो भन्दैमा एउटी बुहारीले आफ्नो भूमिका, परिवारको संस्कार लत्याउनु हुन्न भन्ने मलाई लाग्छ ।

२. म अहिले आफ्नो बच्चालाई छाडेर कलाकारिता, समाजसेवामा खटिएकी छु । मजस्तै धेरै आमाहरु आफ्ना बच्चाबाट विमुख भएका छन् । उनीहरु काखको बच्चा छाडेर बिदेश गएका छन् । अर्काको बच्चा स्यहारिरहेका छन् । यति गरेर पनि उनीहरुबाट पाउने रेमिट्यान्सले देश धानिएको छ । एउटी आमाले गरिरहेको यो संघर्षलाई सबैले बुझ्न सकुन् ।

३. श्रीमान्-श्रीमती भएपछि आपसी समझदारी हुनुपर्छ । असमझदारीका कारण धेरैको परिवार लथालिंग भएको छ । तर, श्रीमान्-श्रीमतीबीच समझदारी र प्रेम हुने हो भने त्यस्तो कुनै अवरोध आउँदैन । यो कुरा हामीलाई हेरेर पनि अरुले पाठ सिकुन् भन्ने चाहन्छु ।

साभारः अनलाइनखबर