‘ए मेरो हजुर २’ मा अनमोल नहुने, झरना खोज्दैछिन् नयाँ नायक


२७माघ, लामो समयदेखि छायांकनमा जाने भनिएपनि विविध कारणले रोकिएको नायिका झरना थापाको बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’का लागि नयाँ कलाकारको खोजी गरिएको छ । मुम्बइमा गीत रेकडिङ गरेर यसका निर्माता सुनिल
कुमार थापा र संगीतकार बसन्त सापकोटा फर्किएको पनि लामै समय भैसकेको छ ।
यसै चलचित्रबाट नायिका झरना थापा निर्देशक पनि बन्ने तयारीमा छिन् । झरनाले भनिन्-‘विविध कारणले गर्दा हामीले काम सुरु गर्न सकेका छैनौ । मुख्य कुरा त देशको अवस्थाले पनि छायांकनमा जान सकिएन ।’ उनले नायक अनमोल केसीलाई पनि केही समय पर्खिएको बताइन् ।
‘हो हामीले अनमोल केसीलाई पनि केही समय पर्खिएका हौ । तर, अब उहाँ चलचित्रमा नहुने पक्का भएको छ ।’ झरनाले भनिन् ।
उनका अनुसार अनमोलले दिएको समयमा अब काम गर्न सकिने अवस्था छैन । अनमोलले आफूहरुलाई केही महिना कुर्न आग्रह गरेको जानकारी दिदै झरनाले भनिन्-‘छायांकनमा जान ढिलो भएकाले अब अनमोल जीलाई पनि पर्खने समय छैन ।’
अनमोलले फागुनमा आफ्नै चलचित्रको प्रमोशन गर्नुपर्ने बताएका छन् । यसपछि, चलचित्र लिएर यूरोप र अमेरिका जाने भएकाले पनि केही समय नभ्याउने अनमोलको कथन थियो ।
नायिका झरना थापाले अब चलचित्रका लागि नयाँ कलाकार खोजिएको बताइन् । स्वर्गिय शिव रेग्मीले निर्देशन गरेको चर्चित चलचित्र ‘ए मेरो हजुर’को सिक्वेलमा रुपमा ‘ए मेरो हजुर २’ निर्माण हुन लागेको हो ।
अनमोलले गीत आफूलाई नसुहाउने बताएका हुन् भन्ने प्रश्नमा झरनाले भनिन्-‘गीत उहाँले खुबै मन पराउनुभयो । तर, उदितनारायण झाको स्वर आफूलाई फिट हुँदैन कि भन्ने कुरा भएको थियो ।’ बसन्त सापकोटाले संगीत भरेका गीतमा बलिउड चलचित्रमा आवाज  दिइरहेका गायक-गायिकाले स्वर दिएका छन् ।
कलाकारहरु पनि निर्देशक बनिरहेको भीडमा झरना पनि  थपिने तयारीमा छिन् । उनले लामो समयदेखि आफूले चलचित्रको कथामा होमवर्क गरेकाले पनि कथावस्तु राम्रो बनेको दाबी गरिन्
साभारः अनलाइन खबर