संविधान संशोधनमा एमालेले राख्यो कडा शर्त, प्रधानमन्त्री प्रचण्ड अप्ठेरोमा


कसैको स्वार्थ पुरा गर्न संशोधन हुँदैनः महासचिव पोखरेल

भक्तपुर, ११ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले देश र जनताको हितमा हुनेगरी मात्र संविधान संशोधन गर्न तयार रहेको बताएका छन् । युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले औचित्य, अभ्यास, अनुभव र आवश्यकताका आधारमा मात्र संशोधन हुनसक्ने बताए ।
उनले भने, ‘कसैलाई सत्तामा पुर्याउने भर्याङ बनाउन र कोही कसैको स्वार्थ पुरा गर्नका खातिर संविधान संशोधन हुन सक्दैन ।’ उनले एमालेलाई मधेसमा एक वा दुई प्रदेश मान्य नभएको बताउँदै सिमाङ्कनको फैसला केही ठालु व्यक्तिले होइन, जनता र जनताका प्रतिनिधिले टुङ्ग्याउनुपर्ने बताए ।

नेता पोखरेलले अङ्गिकृत नागरिक देशको उच्च पदमा बस्न नपाउने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालले पनि अङ्गिकार गरेको बताउँदै केही अङ्गिकृत नागरिकता लिएका मधेसी नेताहरूले चाहँदैमा अङ्गिकृत नागरिकलाई मुलुकको उच्च पदमा आसिन गराउने प्रयास सफल नहुने बताए ।

प्रचण्ड अप्ठेरोमा

यता छिटो संविधान संशोधन गर्नुपर्ने मधेसी मोर्चाको दबाब झेलिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेको शर्तपछि अप्ठेरोमा परेका छन् । संशोधनमा दुई तिहाईका लागि एमाले पनि चाहिने भएकाले प्रचण्ड अप्ठेरामा परेका हुन् । एमालेभित्र संविधान संशोधनमा सघाउने मध्यकर्ता खोजिरहेका प्रचण्ड महासचिव पोखरेलको भनाई र मोर्चाको दबाबले अप्ठेरोमा परेको बालुवाटार स्रोत बताउँछ ।

साभारः दैनिकिनेपाल अनलाइन