फर्जी मत देखिएको भन्दै मतगणना स्थगित


स्ववियु निर्वाचनमा फर्जी मत देखिएको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्ववियु निर्वाचनको मतगणना स्थगित भएको छ । १४ सय ८० मत खसेको भनिएकोमा सोमबार मत गणना गर्दा १५ सय ८० मत भेटिएको भन्दै मतगणना बहिस्कार गरेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतले बताए ।
उनले निर्वाचन आचारसंहिता विपरित निर्वाचनकै दिन फर्जी परिचयपत्र बनाई निर्वाचन आयोगले एकतर्फी मतदान गराएर धांदली गरेको आरोप लगाए । प्रवक्ता बस्नेतले विश्विद्यालयका रजिष्ट्रारले हस्तक्षेप गरि वदर मतलाई सदर गर्न जवरदस्ती दबाब दिएको आरोप लगाएका छन् । उनले यसको छानबिन नगरी मतगणना हुन नदिने बताएका छन् । यता, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले भने निर्वाचनबाट आएको मत परिणाम स्वीकार गर्ने बताएकी छन् । बाह्रखरीसँग कुरा गर्र्दै लामाले भनिन्, “चुनावमा भाग लिएपछि यसको परिणाम पनि स्वीकार गर्नुपर्छ । हामी निर्वाचनको मतपरिणाम स्वीकार गर्छौ ।”
कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले मतपरिणामबाट तर्सेर क्रान्तिकारीले ‘लफडा’ गरेको आरोप लगाए । उनले निर्वाचनमा फर्जी मत देखिनु निर्वाचन आयोगको कमजोरी भएको उल्लेख गरे ।
खसेका कुल मतमध्ये नेविसंघका सभापतिका उमेदवारले ४ सय ७९, क्रान्तिकारीका सभापतिको उमेदवारले ४ सय ४० र अनेरास्ववियुतर्फका सभापतिका उम्मेदवारले ३ सय ७८ मत प्राप्त गरेको अवस्थामा मतगणना रोकिएको हो ।
साभारः बाह्रखरी अनलाइन