२७ फागुन, कैलाली । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विरोधमा कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ ।
कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् । नाका क्षेत्रमा प्रहरीले लगाएको काँडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित नेपालीहरुलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ ।

उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारबाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि बिरोध गरेका छन् ।
कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले हिजो साँझ एक भारतीय ट्याक्टरमा आगजनीसमेत गरेका थिए । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ । कैलाली र कञ्चनपुरमा ३/३ वटा सीमानाका छन् ।
कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपाली गोविन्द गाैतमको मृत्यु भएको थियो ।






साभारः अनलाइनखबर



Prawash Kumar Shakya । २७ फाल्गुन २०७३, शुक्रबार ०६:१३ बजे