विजय थापा
वाशिंङटन डीसी । काठमाडौँमा जन्मेकी नेपाली अनुसन्धानकर्ता तथा वैज्ञानिक डा। सुशीला महर्जन अमेरिकामा ‘दि एल्सभियर फाउन्डेसन’ पुरस्कारद्वारा सम्मानित भएकी छिन् ।
विश्वका ५ महिलाहरुमध्ये नेपालबाट मनोनितमा परेकी डा। महर्जनलाई वाशिंगटन डीसीमा फेब्रुअरी १३ मा एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो । डा। महर्जनलाई उनले नेपालको उच्च क्षेत्रमा फैलने स्ट्रेप्टोमाइसीन ब्याक्टेरिया सम्बन्धी अनुसन्धानका गरेवापत पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुने सबैलाई उनीहरुले अनुसन्धानमा गरेको प्रतिवद्धताको साथै विकशित मुलकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा परेको प्रभावको कारण पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
कोरियाबाट विद्यावारिधि गरेर स्वदेश फर्केपछि डा। महर्जनले आफ्नै लगानीमा ‘रिसर्च इन्सटिट्युट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी रिब’ खोलेकी छिन् ।
पुरस्कृत गर्ने संस्थाले समर्पित वैज्ञानिक महिलाहरुले श्रोतको अभाव, उपकरणको कमी, काम गर्ने अवस्था नाजुक भएता पनि उल्लेख्य काम गरेवापत उक्त पुरस्कार प्रदान जनाएको छ।
यो पुरस्कार सन् २०१२ बाट थालनी भएको हो । प्रत्येक पुरस्कृत अनुसन्धानकर्ता वैज्ञानिक महिलालाई सम्मान स्वरुप ५ हजार अमेरिकी डलर प्रदान गरिँदै आएको छ ।
एल्सभियर फाउन्डेसन अनुसार पोषण, मनोवैज्ञानिक, जीव प्रविधि, मानसिक रोग चिकित्सा, महिला स्वास्थ्य, जीव वातावरण तथा सरुवा रोग सम्बन्धी अनुसन्धानकर्ता ५ महिलालाई सम्मान गरिएको छ ।
नेपाली वैज्ञानिक डा। महर्जनले आफुले गरेको अनुसन्धान तथा संघर्षको कथा आफ्नो मन्तव्यका क्रममा सुनाएकी थिइन् ।
यसैबीच, नेवा अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा डा महर्जनसँग डीसी महानगर क्षेत्रको सिल्भर स्प्रिङ्ग्स मा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ।
उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामलाल श्रेष्ठले गरेका थिए । अध्यक्ष श्रेष्ठले डा। महर्जनले सम्पूर्ण नेपाली समुदायको इज्जत राखेकोमा गर्व गर्दै शुभकामना दिएका थिए । कार्यक्रममा डा। महर्जनलाई सम्मान गर्नुका साथै अन्तरक्रिया समेत गरिएको थियो ।
‘दि एल्सभियर फाउन्डेसन अवार्ड’ प्राप्त गरेकी डा। महर्जनलाई अमेरिकामा रहेका शुभचिन्तक,संस्थाका केही व्यक्ति तथा अमेरिकामा काम गरिरहेका नेपाली बैज्ञानिकहरूले समेत नेपालीको लागि गौरव भएको भन्दै शुभकामना दिएका थिए ।
कार्यक्रममा डा। महर्जनले विदेशमा बस्ने सबैले नेपालीहरूले आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने सुझाब दिइन् । उनले आफ्नो संस्थाबाट सहयोगको चाहना राख्ने सबैलाई स्वागत गर्ने बताइन् ।
– See more at: http://www.onlinekhabar.com/2016/02/388241/#sthash.j7w23ZMr.dpuf




Milan Shrestha । ३ फाल्गुन २०७२, सोमबार ०६:४६ बजे