फेसबुकले जुटायो उपचार खर्च


14215752_1726872057573311_1375094731_oजाजरकोट, २६ भदौ । चरम गरिवीका कारण उपचार नपाएर घरमै थलिएका जाजरकोटका एक बालकको सामाजिक सञ्जाल फेसबुकले खर्च जुटाएपछि उपचार हुने भएको छ । भेरीमालिका नगरपालिका ५ गंगटियाका मुकेश वि.क.ले उपचार नपाउँदा सात वर्ष देखि घरमै बन्दी अवस्थामा रहेकोले उनको उपचारमा सहयोग गर्न भन्दै भेरीमालिका नगरपालिका ४ निवासी यशोधा सिंहले आफ्नो फेसबुक वालमा पोष्ट गरेकी थिइन् ।

गंगटियाको एक विद्यालयमा प्रधानाध्यापक यशोधाले बालकको अवस्था वारे जानकारी पाएपछि सहयोग जुटाउन फेसबुकको सहारा लिएको बताइन् । उनको फेसबुक वाल देखेर जापानमा बस्ने जाजरकोटकै एन्जिला राजभण्डारीको पहलमा ती बालकको उपचार हुने भएको हो । एन्जिलाको पहलमा अहिलेसम्म जापानमा बस्ने नेपालीले ५५ हजार रुपैयाँ सहयोग संकलन गरेका छन् । मुकेशलाई उपचारको लागि शनिबार काठमाडाैँ पठाइएको छ । उनको कान्तिबाल अस्पतालमा उपचार हुने भएको छ । उनको अवस्था सुधार हुने देखिए उपचारमा लाग्ने सवै खर्च जुटाउने एन्जिलाले जानकारी दिइन् । सहयोग संकलन भइरहेको छ मुकेशको उपचार राम्रोसँग होस रकमको अभाव हुदैन एन्जिलाले–भनिन् ।

उनी न त बोल्न सक्छन् न त खान खान नै । १२ वर्षीय मुकेश मन लागेको बेला खोसेर खान्छन् तर दिएको बेला खाँदैनन् । उनले कहिले काँही माटो र आफ्नै दिसा समेत खाइदिन्छन् । घरमा एक्लै भएको बेला जथाभावी रुपमा हिंडिदिंदा परिवारलाई समस्या हुने गरेको छ । त्यसैले पनि उनलाई बन्दी जस्तै गरेर दाम्लोले घरमा वाँधेर राख्ने गरिएको परिवारले बताएका छन् । दाउरा बेचेर परिवार पाल्दै आएका मुकेशका बाबु जरे लुहारले छोरालाई उपचार गर्न सकेका थिएनन् । सहयोग जुटेपछि छोरालाई काठमाडौ लिएर जान थालेका जरेले भने, ‘अव केही आशा पलाएको छ ।’

साभारः खबरइरा अनलाइन