देश-विदेशबाट कोइरालाप्रति श्रद्धाञ्जली


नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति देश-विदेशका नेताहरुले दु:ख जनाउंदै श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रप्रतिको उनको निष्ठा र निरकुंशताविरुद्धको निरन्तर संघर्षको स्मरण गर्नुपर्ने टिप्पणी गरे।
कोइरालाको महाराजगञ्जस्थित निवास पुगेर श्रद्धाञ्जली व्यक्त गरेका ओलीले संविधान निर्माणमा ठूलो दलको प्रमुख र प्रधानमन्त्रीका रुपमा कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पनि कोइरालाको योगदान नभएको भए संविधान निर्माण सम्भव नरहेको भन्दै उनको योगदानको सम्झना गरेका छन्।

शोक सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा ‍सन्देश लेख्दै कोइरालाको निधनबाट आफूलाई पीडा भएको बताएका छन्। उनले लेखेका छन्, “नेपाली कांग्रेसले नेपालका लागि दशकौं सेवा गर्ने एउटा ठूलो नेता गुमाएको छ र भारतले एक जना मूल्यवान साथी“। उनले कोइरालाको सरल जीवन सबैका लागि शिक्षाको रुपमा रहेको बताए। मोदीले लेखेका छन्, “नेपाली जनता र कोइराला परिवारप्रति यो दु:खको घडीमा समवेदना व्यक्त गर्दछु”। कोइरालाको दल नेपाली कांग्रेसले उनको निधनका कारण पार्टीको आसन्न १३औं महाधिवेशनको सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ।

श्रद्धाञ्जली

मंगलबार बिहान ११ बजे बस्ने पार्टीको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठकले महाधिवेशनबारे औपचारिक निर्णय गर्ने बताइएको छ। श्रद्धाञ्जलीका लागि अहिले कोइरालाको शव ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा लगिएको छ।
मंगलबारै उनको शव श्रद्धाञ्जलीको लागि दशरथ रंगशालामा पनि राखिने कांग्रेस नेताहरुले जनाएका छन्। केन्द्रीय कार्यसमितिकै बैठकले उनको अन्त्येष्टि कहिले गर्ने भन्नेबारे निर्णय पनि गर्ने कांग्रेस पार्टीले जनाएको छ।
साभारः विविसी नेपाली