मधेसी मोर्चाको विवाद उत्कर्षमा, महतोलाई सचेत गराउने तीन अध्यक्षको निर्णय


२५ माघ, काठमाडौं । मधेसी मोर्चाभित्रको विवाद उत्कर्षमा पुगेको छ । मोर्चामा आबद्ध तीन दलले सदभावना अध्यक्ष राजेन्द्र महतोलाई सचेत गराएको दाबी गरेका छन् भने उपेन्द्र यादवमाथि किर्ते काम भएको आरोप लगाएका छन् ।
वीरगञ्ज नाका खुलेपछि आरोप प्रत्यारोपमा उत्रिएका मधेसी मोर्चाका नेताहरुको बैठक सोमबार विहान बसेको थियो । तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको बैठकमा चार अध्यक्ष मात्र सहभागी थिए ।
बैठकमा नेताहरुले वीरगञ्ज नाका खोल्नुपर्छ भनेर अभिव्यक्ति दिएको भन्दै महतोको अडा आलोचना गरेका थिए । महतोले भने आफ्नो बचाउ गर्दै नाका बन्द गर्ने हो भने सबै दलका अध्यक्ष जाऔं र सबै नाका बन्द गरौं भन्ने प्रस्ताव राखे ।
नेताहरुबीच भनाभन भएपछि बैठक स्थगित भयो । तर, दिउँसो मधेसी मोर्चाको विज्ञप्ति आयो, जसको चौथो बुँदामा ‘आन्दोलनका क्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका पछिल्ला कार्य र अभिव्यक्तिबाट आन्दोलनमा क्षति पुग्न गएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा निर्देश गर्छ,’ भनिएको छ ।
विज्ञप्तिमा आन्दोलनका कार्यक्रमहरु पनि अघि सारिएको छ भने आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई स्थगित गरिएको उल्लेख छ ।
विज्ञप्तिमा तीन अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र राय यादवले मात्र हस्ताक्षर गरेका छन् । महतोको नाम भएपनि उनको हस्ताक्षर छैन ।
हामीलाई आक्रोसित बनाएको छः सुमन
सदभावना पार्टीका महासचिव मनिष सुमनले भने शीर्ष नेताहरु फेरि बैठक बस्ने भनेर उठेको तर, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोमानी ढंगले विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् ।
आफ्नो पार्टी अध्यक्षलाई मानमर्दन गरेर विज्ञप्ति जारी गरिएको भन्दै उनले सदभावना पार्टीलाई यसले आक्रोशित बनाएको बताए ।

साभारः अनलाइन खबर