यसरी हुँदैछ वीरेन्द्रनगर बजार रातभर उज्यालो


सुर्खेत, १५ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर बजार विद्युत लोडसेडिङ्ग भएकै बेला पनि अव भने रातभर झिलिमिली हुने भएको छ । वीरेन्द्रनगर बजार क्षेत्रमा अव भने सौर्य सडक बत्ति जडान गरिने भएको हो । रात पर्ने वित्तिकै असुरक्षित महसुस हुने वीरेन्द्रनगर अब भने रातभर उज्यालो हुनेछ ।
जिल्ला विकास समितिको कार्यालयले यो आर्थिक बर्षको मसान्तसम्म बजार क्षेत्रमा सौय सडक बत्ती जाडन गरिसक्ने बताएको छ । जिल्ला विकास समितिको उर्जा शाखाले अहिले योजनाको अन्तिम तयारी पुरा भएको भन्दै असार मसान्तसम्म सुर्खेतको वीरेन्द्रनगर बजार रातीमा पनि अब झिलिमिली हुने बताएको छ । 
‘सौय सडक बत्ती कार्यक्रम’ अन्तर्गत वीरेन्द्रनगरका बजार क्षेत्रमा सडक बत्ती जडान गर्न लागिएको हो । यसका लागि अहिले ठेक्का प्रक्रिया पुरा भइसकेको छ । अव तत्काल काम शुरु हुने छ । अहिले सडक छेऊमा रहेका धेरैजसो खम्वाहरुमा वत्ती नै जडान गरिएका छैनन् भने जडान गरिएका सडक बत्ती पनि कहिल्यै बल्दैनन् । 
जम्मा ८० लाख बजेट रहेको यो कार्यक्रममार्फत वीरेन्द्रनगरका ७८ वटा पोलहरुमा सौर्य बत्ती जडान गरिने उर्जा शाखाका इन्जिनियर प्रेमराज पोख्रेलले जानकारी दिनुभयो । जसमध्ये विभिन्न चार स्थानमा तीव्र गतिका सिसि क्यामेरालाई पुग्ने गरी सौर्य बत्ती जडान गरिनेछ । 
सुब्बाकुना, बाङ्गेसिमल, मंगलगढी चोक र वीरेन्द्र चोकमा यस्ता बत्तीहरु जडान गरिने पोख्रेलले बताउनुभयो । यस्तै विभिन्न १० स्थानमा सडकको दुईतिर कभर गर्ने गरी राखिने सिसि क्यामेरालाई धान्न सक्ने गरी सौर्य बत्ती जडान गरिनेछ । बाँकी ६४ पोलहरुमा एक सय ४० वाटका दरले सौर्य बत्ती जडान हुनेछन् । प्रमुख बजार मानिएको मंगलगढी चोकबाट गणेशचोकसम्म र नेता चोकदेखि बुथपथको लाइनमा सौर्य सडक बत्ती जाडान गरिने भएको छ । 
सडक बत्तीका लागि सबै पोलहरु नयाँ ल्याइनेछ । जडान गरिएको बत्तीहरु अटोमेटिक हुनेछन् । दिउँसोको समयमा चार्ज हुने र बत्ति निभ्ने रातपरेपछि आफै बल्ने गरी स्वचालित सिस्टम हुने इन्जिनियर पोख्रेलले बताउनुभयो । बत्तीका पोलहरु २५÷२५ मिटरको फरकमा हुनेछन् । 
यो आयोजनाका लागि बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको ४० लाख, जिल्ला विकास समिति सुर्खेतको ३० लाख र वीरेन्द्रनगर नगरपालिकाको १० लाख रकम छ । बजार क्षेत्रमा सौर्य सडक बत्ती जडान गरिएपछि मुख्य गरी बजार क्षेत्रमा सुरक्षा हुने र बजारको सौन्दर्यदा बढ्ने विश्वास लिइएको पोख्रेलले बताउनुभयो ।
अहिले बजार क्षेत्रमा सिसि टिभी जडान गर्ने कार्य पनि सुरु गरिएकोले यो कार्यक्रमले त्यसलाई ठुलो सहयोग पु¥याउने छ । रातको समयमा सिसिटिभी भएपनि अध्यारो भएमा काम नहुने भएकोले सडक बत्ती जडान गरिएपछि भने सहज हुने भएको छ ।
साभार : जागरण एफ एम अनलाइन