नेपालगंजमा धार्मिक सद्भाव कायम राख्न अनिश्चितकालिन कर्फ्यू लाग्यो


१६ असोज, काठमाडौं । बाँकेको नेपालगंजमा धार्मिक सद्भाव भड्किने अवस्था देखिएपछि अहिले कर्फ्यू लागेको छ ।

जिल्ला प्रशासन बाँकेद्वारा हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि आज दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

नेपालगंजमा आज हिन्दुहरुको समूह ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको थियो । ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो ।

नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै आज बिहान सद्भाव र्रयाली निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको थियो ।

प्रशासनद्वारा जारी विज्ञप्तीमा मुस्लिम समुदायलाई लक्षित गरि सामाजिक सञ्जाल फेसबुकमा स्टाट्सको विरोधलाई लिएर मुस्लिम समुदायले विरोध र्रयालीका कारण उत्पन्न परिस्थिति एवं ओमकार परिवारले आज निकालेको र्रयालीका क्रममा नेपालगंज उपमहानगरपालिकामा तोडफोन, ढुङ्गामुढा प्रहार तथा उच्छ्रंखल गतिविधीले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भङ्ग हुने सक्ने स्थितिलाई मध्यनजर गर्दै कर्फ्यू लगाइएको उल्लेख छ ।