सुर्खेत लगानी वर्ष २०७३ घोषणा


सुर्खेत, १३ असोज । ६ सय करोड बढीको लगानी भित्र्याउने उद्देश्यले सुर्खेत लगानी वर्ष २०७३ घोषणा गरिएको छ । LOGO-of-SIYनेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले एक कार्यक्रमका वीच लगानी वर्षको घोषणा गरेका हुन् ।

स्वदेशी तथा विदेशी गरी करिव ६ सय करोडको लगानी सो अवधिमा भित्र्याउने र एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुर्खेत लगानी वर्ष २०७३ घोषणा गरिएको छ । सार्वजनिक निजी सहकारी परामर्श मञ्चको आयोजनामा लगानी वर्ष घोषणा गरिएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले सुर्खेत लगायत ६ नम्बर प्रदेशमा लगानी गर्ने प्रशस्त सम्भावना भएकोले सुर्खेत लगानी वर्ष सफल हुने बताए । उनले वन्द हड्ताल, लोडसेडिङ र भ्रष्टाचार लगानीको अवरोध भएकोले सरकारले यस्ता कार्यलाई न्यूनीकरण गरी लगानी भित्र्याउने वातावरण बनाउन सुझाव दिएका छन् ।

उनले राजनीतिक स्थायित्व हुन सके युवा पलायन रोकिने र स्वदेशी तथा विदेशी लगानी प्रशस्त आउने उनले दावी गरे । सुर्खेतको काँक्रेविहार, बुलबुलेताल, देउतिबज्यै मन्दिरलाई अझै नयाँ पहिचानका साथ चिनाउन सकिए सुर्खेतमा अझै विकास आउन सक्ने दावी गरेका छन् ।

महासंघका उपाध्यक्ष शेखर गोल्छाले मुलुकले लगानी खोजिरहेकोले सरकारी निजी र सहकारी क्षेत्रबाट लगानी ल्याउन जोड दिएका छन् । उनले अव राजनीति मात्र नभइ आर्थिक विकासको आवश्यकता भइसकेकोले यस क्षेत्रमा खानी खनिज, जलविद्युत, जडिबुटी, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्न सकिने सुझाव दिए ।

महासंघका केन्द्रीय सदस्य निरक केसीले सम्भावना बोकेको क्षेत्रमा लगानी गर्न जरुरी भएको बताउँदै सुर्खेत लगानी वर्षमा अपेक्षा अनुसारको लगानी भित्रिने दावी गरे ।

स्थानीय विकास अधिकारी एवं मञ्चका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यहरु टेकबहादुर भण्डारी, पदमबहादुर शाही, चन्द्र ढकाल, घरेलु विकास समितिका उपनिर्देशक विनोददेव पन्त, लगानी बोर्डका उपसचिव खगेन्द्र रिजाल, काँग्रेस सभापति कमलराज रेग्मी, एमाले उपाध्यक्ष अमृत विसी लगायतले लगानी वर्षले सुर्खेतमा लगानी भित्र्याउने अपेक्षा गरिएको धारणा राखेका थिए ।

मञ्चका सहअध्यक्ष एवं सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतलाई शैक्षिक र प्रशासनिक सहर मात्र नभएर औद्योगिक सहर बनाउनका लागि सार्वजनिक निजी सहकारी (पीपीपी) मोडलमा सुर्खेत लगानी वर्ष सञ्चालन गरिएको बताए ।

साभारः खबरइरा अनलाइन