
११ असोज, गोरखा । काठमाडौं हनुमानढोकास्थित दशैंघरमा भित्र्याउन गोरखा दरबारबाट फूलपाति लगिएको छ ।गोरखा पर्यटन विकास केन्ऽ र गोरखा दरबार हेरचाह अड्डा, एकता युवा क्लब र गोरखा मल्टि-ट्यालेन्ट ग्रुपको समन्वयमा बाजागाजासहित डोलीमा राखेर फूलपाति लगिएको हो । फूलपाति चौताराबाट बा१झ ६५४८ नम्बरको जिपमा राखेर काठमाडौंतर्फ लगिएको हो ।
‘पहिले फूलपातीको डोली रिले गर्दै बोकेर धादिङ, नुवाकोट हुँदै काठमाडौ पुर्याइन्थ्यो,’ गोरखा दरवार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिंह भण्डारीले भनिन्, ‘तर, अहिले सवारी चल्न थालेपछि गाडीमै लैजान थालेका हौं ।’
हरेक वर्ष फूलपातीको दिन गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा छ । पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेर राजधानी कायम गरेसँगै गोरखा दरबारबाट फूलपाति लैजाने क्रम सुरु भएको हो ।
उक्त फूलपाती काठमाडौं पुर्याएर जमलदेखि हनुमानढोकासम्म निजामति सेवाका उच्चपदस्थ अधिकारीहरु, सेनाको ब्यान्डबाजा, पञ्चैबाजासहित शोभायात्रा गरिने चलन छ ।
आजकै दिन परम्पराअनुसार दुर्गा भवानीको प्रतिमा राखिएको गोरखा दरबारको दशैं घरमा फूलपातीको शुभसाइत पारेर उखु, अदुवा, केराको बोट, धानका बाला, बेलपत्र, दारिम, जयन्ती, ओकको फूल तथा नयाँ पालुवा भित्र्याइन्छ ।
साभारः अनलाईन खबर ।



Milan Shrestha । ११ आश्विन २०७४, बुधबार ०७:५० बजे