‘गिरानचौर नमुना बस्ती निर्माण सरकारलाई चुनौती’- राष्ट्रपति


  • ६५ भवनसहितको बस्ती भुकम्पपीडितलाई हस्तान्तरण

28102016123239giran-2-1000x0कार्तिक १२, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जोडी धुर्मूस–सुन्तलीले गिरानचौर नमुना बस्ती निर्माण गरेर सरकारलाई नै चुनौती दिएको बताएकी छन् ।

मेलम्ची नगरपालिका–८ स्थित गिरानचौर बस्ती हस्तान्तरणपछि समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कयौं चुनौतीबीच बस्ती निर्माण गरेर धुर्मूस्–सुन्तली फाउण्डेसनले सरकारको भन्दा ठूलो काम गरेको बताइन् । छ महिनाअघि काठमाडौंको रानीपोखरी पुनर्निर्माण महाअभियान उद्घाटनको स्मरण गर्दै राष्ट्रपति भण्डारीले गिरानचौर बस्ती हस्तान्तरण दोस्रो ठूलो कार्यक्रम भएको उल्लेख गरिन् ।

उनले एकीकृत बस्ती यसअघि तराईमा मात्रै देखेको भन्दै गिरानचौरको नमुना बस्ती बनिसकेपछि देशैभर विकास र विस्तार गर्न सकिने विश्वास व्यक्त गरिन् । उनले विकास र पूर्वाधार लागि धुर्मूस–सुन्तली फाउण्डसेलने राम्रो बाटो देखाएको भन्दै कलाकारद्वय सीताराम कट्टेल (धुर्मूस) र कुञ्जना घिमिरे (सुन्तली)को प्रशंसा गरिन् ।

राष्ट्रपति भण्डारीले गिरानचौर उदाहरणीय नमुना बस्तीमात्रै नभई देशको गौरव र सन्देशमूलक भएको बताइन् । राष्ट्रपतिले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती शुक्रबार आयोजित एक समारोहबीच भुकम्पपीडितका लागि गिरानचौर बस्ती व्यवस्थापक रामबहादुर तामाङलाई हस्तान्तरण गरिन् । ‘ए’, ‘बी’ र ‘सी’ गरी तीनवटा ब्लकमा छुट्याइएको भवनमा तामाङ, गुरुङ, थापा, तिवारी लगायत जाति रहेका छन् ।

बस्ती निर्माणमा ५ करोड १४ लाख खर्च लागेको गिरानचौर बस्तीका व्यवस्थापक तामाङले बताए । उनले बस्ती निर्माणका लागि भन्दै स्वदेश तथा विदेशबाट गरी ६ करोड १७ लाख रुपैयाँ संकलन भएको पनि जानकारी दिए ।

जग खनेको चार महिना नबित्दै ती बस्ती निर्माण सकिएको तामाङको भनाइ छ।

 

 साभारः कान्तिपूर अनलाइन