तिहारको हुर्रा नाचमा छुरी हानाहान, दुईको मृत्यु


६ कात्तिक बेलबारी (मोरङ) । तिहारका बेला रमाइलो गरेर नाचगान गर्ने नेपाली संस्कृतिलाई सदुपयोग नसक्दा भएको झडपमा सोमबार राति मोरङमा दुई जनाको ज्यान गएको छ ।

तिहारको रमाइलोका लागि नाचगानमा हिँडेको देउसी टोलीमाथि अर्को समूहले आक्रमण गरेको हो । तिहारको उपलक्ष्यमा भइरहेको हुर्रा नाचमै मोरङको लेटाङ-भोगटेनी नगरपालिका-५ तुर्के भन्ने ठाउँमा सोमबार राति झडप भएको हो ।hatya

झडपमा परी केराबारी-९ घंघरुका १८ वर्षीय सनम गुरुङ र १५ वर्षीय दीपेन गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको जीउमा धारिलो हतियार प्रयोग भएको पाइएको छ । हुर्रा नाच भइरहेका बेला राति १२ बजेतिर झगडा भएको थियो ।

प्रहरीले घटनामा संलग्न केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

हुर्रा नाच पूर्वी नेपालमा तिहारका बेला नाचिने विशेष प्रकारको नाच हो ।

मगरजातिको विशेष नाच भए पनि पूर्वमा यो नाच तिहारका बेला सबै जातजातिले नाच्ने गर्छन् ।

पश्चिमको देउडामा जस्तै युवायुवतीले एक अर्काको हात-समातेर दोहोरीको भाका हाल्दै सामुहिक गीत गाउने र नाच्ने चलन छ । -भक्तशेर लिम्बूबाट