काठमाडौं– कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको क्यान इन्फोटेक मेलाको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए, प्रधानमन्त्री केपी शार्मा ओली। बिहान ११ बजेका लागि तोकिएको उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली दुई घण्टा ढिलो गरी कार्यक्रमस्थल पर्यटन बोर्डको सभाकक्ष प्रदर्शनीमार्ग पुगेका थिए। हतारहतार गरी समयमै पर्यटनबोर्डको सभाकक्षमा पुगेको ओलीकै क्यानेट मन्त्री शेरधन राइले पनि ओलीको पर्खाइमा दुई घण्टा बिताउनु प¥यो।
कार्यक्रम स्थलमा राखिएका पत्रपत्रिका पढ्ने, उपस्थित व्यक्तिव्यक्तित्वसँग भलाकुसारी गर्ने र चियापान गर्ने जस्ता समय बिताउने अनेक उपाय गरिसक्दा पनि प्रधानमन्त्री नआइपुग्दा सायद सञ्चारमन्त्री राई पनि दिक्दारिएका थिए। तर, आफ्ना प्रधानमन्त्रीको आदतबारे परिचित राईले दिक्दारी प्रदर्शन भने गरेनन् । कार्यक्रममा उपस्थित सर्वसाधारण भने हाइ काढ्दै थिए। उद्घोषकले बेला बेला हाम्रो कार्यक्रम शुरु हुनै लाग्यो भनेर उद्घोष गरिरहँदा सहभागिहरुले हाँसो थाम्न सकिरहेका थिएनन्। यस्तैमा करिब १ बजे प्रधानमन्त्रीको आगमन भयो सभाकक्षमा ।
केही समयको औपचारिक कार्यक्रमपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनको क्रममा भने, ‘सारा विश्व अघिअघि र हामी चाहिँ समयभन्दा पनि पछिपछि कुद्नु पर्ने केही आवश्यकता छैन।’ प्रधानमन्त्रीको यस्तो भनाइप्रति तत्कालै प्रतिक्रियाहरु शुरु भए। ‘तोकिएको समयभन्दा आफै दुई घण्टा ढिलो आउने अनि समयसँगै कुद्न सिकाएर कसरी हुन्छ?,’ उपस्थित मध्ये केहीको खासखुस सुनिँदै थियो। हाल आएर नेपालका केही युवाहरु पनि आशावादी हुँदै समयसँगै कुद्ने कोशिस गरिरहेको उनले बताए।
‘बंगबन्धु कप फुटबलमा हाम्रा युवा पनि समयसँगै कुदेर जिते, आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पनि न्यूजिल्याण्डलाई जिते,’ उनले भने, ‘पहिला पनि समयसँगै कुदेको भए जितिन्थ्यो। नजित्नु पर्ने कारण के थियो र। अरुदेशका युवाहरुसँग हाम्रो देशका बुढाहरुले खेलेका त थिएनन् नि।यसैगरी हामीले सबै क्षेत्रमा जित हात पार्नु पर्छ।’ उनले यसो भनिरहँदा पर्यटन बोर्डको हल नै हाँसोले गञ्जिएको थियो। अरुले अन्वेषण र आविश्कार गरिसकेको कुरालाई पच्छ्याएर मात्रै नभई नेपालले पनि समयसँगै हर क्षेत्रमा विकासको नेतृत्व लिनु पर्ने प्रधानमन्त्रीको भनाई थियो।
फरक राजनीतिक प्रसंगमा प्रधानमन्त्री ओलीले नाकाबन्दीले हिसाबै राख्न नसकिने गरी ध्वस्त पारेको नेपाली अर्थतन्त्रलाई जोगाउन पनि सूचना प्रविधिको विकासले सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘दक्षिणतिर नाकाबन्दी गरेको छ भनेर कोही भन्दैन। तर सामान आउँदैन, जोगीले फेरी लगाएजस्तै आकाशे बाँधुँ पताले बाँधु भट्याएर खरानीको रेखी हालेर गरेको नाकाबन्दी पनि अब त खुल्छ। खुल्ने अवस्थामा पुगिसकेको छ।’



Milan Shrestha । १५ माघ २०७२, शुक्रबार १०:३९ बजे