साल्ग परियोजनाको एस.डि.सी. द्वारा अनुगमन


अशोक राजी
सुर्खेत,१४ माघ । असल शासन क्लव जिल्ला समन्वय समितिद्वारा संचालीत स्थानिय सरकारको जवाफदेहीता अभिवृद्धी परियोजनाको स्विस विकास नियोग(एस.डि.सी.) ले अनुगमन तथा अवलोकन भ्रमण गरेको छ । एस.डि.सी.को टोलीले बिहीबार वीरेन्द्रनगरमा भ्रमण गरेको हो । टोलीले भ्रमणका क्रममा वीनपा वडा नम्वर ४ र ११ मा रहेको सचेतना केन्द्रका सदस्यहरुसंग छलफल गरेको छ ।
परियोजनाको सहयोगमा संचालीत नागरिक सचेतना केन्द्रले गरेका गतिविधि तथा रिफ्लेक्ट कक्षाको प्रभावकारीता र परिवर्तन बारेमा छलफल भएको थियो । परियोजनाको काम, प्रभावकारिता तथा समन्वयका विषयमा सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, वरिष्ठ जिल्ला कृषी विकास अधिकृत विजय गिरीसंग पनि छुट्टाछुट्टै छलफल गरेको छ । टोलीले परियोजनाका काम कारवाहीका सम्वन्धमा संस्थाका पदाधिकारी तथा परियोजकाका कर्मचारीसंग समेत छलफल गरी आगामी दिनमा गर्नुपर्ने कार्यहरुका वारेमा सुझाव दिएको छ । टोलीमा एस.डि.सी साल्ग प्रोटफोलीयो अधिकृत प्रकास रेग्मी, जिविकोपार्जन प्रोटफोलीयो अधिकृत यमुना घले, अधिकृत सलिना पिकार्ड तथा लिंक हेल्वेटास दैलेख जिल्ला संयोजक सिल्पा कुंवर रहेका थिए ।
अनुगमन तथा अवलोकन भ्रमणको समन्वय संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारी तथा परियोजनाका जिल्ला संयोजक खगेन्द्र सिजापतीले गरेका थिए । विगत एक वर्षदेखी असल शासन क्लव जिल्ला समन्वय समितिले यो परियोजना नेपाल सरकार तथा स्विस सरकारको आर्थिक अनुदान, कोम्याट आस्था जेभीको आर्थिक सहयोगमा सुर्खेत जिल्लामा कार्यान्वयन गर्दै आएको छ ।