विश्वकपमा नेपालको पहिलो जित, न्यूजिल्याण्ड स्तब्ध


१४ माघ, काठमाडौं । नेपालले अन्डर- १९ विश्वकपमा शक्तिशाली न्यूजिल्याण्डलाई पराजित गर्दै सनसनिपूर्ण नतिजा निकालेको छ । बंगलादेशमा भएको खेलमा टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गरेको हो ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २०६ रनमा अल आउट भएको थियो । नेपालका स्पिनरहरु चम्केपछि न्यूजिल्याण्डको ब्याटिङ धराशयी बन्यो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभरमा २४ रन खर्चेका थिए ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर सात विकेट गुमाउदै २सय ३८ रन बटुलेको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।
यसअघि प्रारम्भिक जोडी सन्दिप सुनार र सुनील धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सुनील १५ तथा सन्दिप ३९ रनमा आउट भए । तेस्रो नम्बरमा आएका योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोड्न सके ।
पछिल्लो क्रमका राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरुले क्रमशः २४, १६ र ३५ को योगदान दिएका छन् । अन्तिम ओभरहरुमा कुशलको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो ।
न्यूजिल्याण्डका लागि नाथन स्मिथले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४८ रन खर्चेका थिए ।

साभारः अनलाइन खबर