अनलाइनखबर
१९ कात्तिक, काठमाडौं । भारतबाट गोर्खा सैनिक फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदैछ ।

शुक्रबार दिउँसो रत्नपार्कको शान्तिबाटीकाबाट र्यालीसहित लैनचौर पुगेर ज्ञापनपत्र बुझाइने विप्लव माओवादीका नेता माइला लामाले जानकारी दिए ।
‘कारगिलको लडाईंमा विमल तामाङ मारिएको घटनाले गोर्खा सैनिकहरु असुरक्षित छन् भन्ने देखिएको छ,’ लामाले अनलाइनखबरसँग भने, ‘त्यहाँबाट गोर्खा रेजिमेन्ट फिर्ता गरियोस् भन्ने हाम्रो मुख्य माग हो ।’
यही कात्तिक १५ गते जम्मु कश्मिरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत धरानका विमल तामाङको मृत्यु भएको थियो ।
भारत-पाकिस्तान द्वन्द्वको शिकार नेपालीहरु हुन नहुने भएकाले भारत सरकारको ध्यानाकर्षण गराउन लागिएको विप्लव माओवादीले जनाएको छ ।



Milan Shrestha । १९ कार्तिक २०७३, शुक्रबार ०७:०८ बजे