वीरगन्ज नाका खुकुलो


१० माघ, वीरगन्ज–स्थानीयको दवाव थेग्न मुस्किल परेपछि रक्सोल नाका खुकुलो हुँदै गएको छ। मधेसी मोर्चाको धर्नाका कारण ४ महिनादेखि जारी नाकाबन्दी हटाउन बढ्दो स्थानीयको दबाब थेग्न नसकपछि नाकाबन्दी खुकुलो भएको हो। 
नाकामा अबरोध सुरु गरेपछि आयात निर्यात ठप्प भएको थियो। यातायातका साधन संचालन नभएपछि भरिया लगाएर पोकामा रक्सोल नाकाबाट वीगन्जतर्फ मालसामान ल्याउने क्रम करिब २ हप्ता अगाडि सुरु भएको थियो। स्थानीय ट्रान्सपोर्ट ब्यवसायी र कामदारको दबाबमा पोकामा भित्रिन थालेको मालसामान अब रातको समयमा ठेला र टायर गाडामा आउन थालेको छ।

रातको समयमा धर्नास्थलमा धर्नाकारीको उपस्थिति पातलिएपछि त्यसको फाइदा स्थानीय ब्यवसायीले उठाएका छन्। रक्सोलस्थित भारतीय भन्सारले कागजी प्रक्रिया पुर्याएर सामान छाड्न थालेको करिब १० दिन भएको छ। पोका र ठेलामा सामान आए पनि धर्नास्थलमा बसेका आन्दोलनकारीको अवरोधले ठूलो परिमाणमा सामान भित्रिन सकेको थिएन। २ दिनदेखि भने टायर गाडामैं सामान आउन थालेको छ।

कात्तिक यता लक्ष्यको १ देखि २ प्रतिशत राजश्व मा सिमित भएको वीरगन्ज भन्सार कार्यालयले राति टायरगाडामा भारतबाट मालबस्तु आयात हुन थालेपछि करिब १० प्रतिशत असुली गर्न थालेको छ। औसत ३० करोड रुपैयाँ दैनिक राजश्व उठाउने यस भन्सारले केही दिनयता दैनिक करिव ३० लाखको हाराहारीमा राजश्व उठाउन थालेको प्रवक्ता सुशील शर्माले बताए। आयातकर्ताले भन्सारका कागजी प्रक्रिया दिउँसो गराउने र सामान राति सीमा पार गराउन थालेका छन्।

मधेसी मोर्चाले धर्नाको लागि मितेरी पुलमा ठड्याएको टेन्टको छेउबाट ठेला र टायर गाडामा मालसामान भित्रिन थालेको छ। पुलबाटै सामान आएपनि आन्दोलनकारीले अवरोध गर्न छाडेका छन्। अवरोध गर्न खोज्दा विगतमा तस्कर र भरियाबाट आन्दोलनकारी कुटिएका थिए । ‘सानो परिमाणमा भए पनि उताबाट सामान आएपछि हाम्रो पनि काम अलिकति बढेको छ,’ प्रवक्ता शर्माले भने। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पनि भारतीय भन्सारले केही दिनयता मालसामान छोड्न थालेको पुष्टि गरे।

यसबीचमा कपडा, तयारी पोशाक, जुत्ता, चप्पल, हार्डवेयर, प्लाष्टिकलगायतका सामान भित्रिएको छ ।

भन्सार विभागले तोकेको लक्ष्य नेपालको अनुसार कुल आयात निर्यातको ६५ प्रतिशत भार वीरगन्ज नाकालाई छ। पेट्रोलियम र औद्योगिक कच्चा पदार्थ पनि सबभन्दा बढी यसै नाकाबाट भित्रिने हो। त्यसता सामान भने आउन सकेको छैन्। मधेसी मोर्चाले संविधान र प्रदेश सीमाकंनको विरोधमा साढे पाँच महीनादेखि सुरु गरेको आन्दोलनको क्रममा वीरगन्ज नाका बन्द गराएसंगै भारतीय पक्षले पनि सय नाका भएर निर्यात रोकेको थियो।

साभारः नागरिक न्यूज