डा. केसीकाे माग पुरा नभए अस्पतालका सेवा बन्द गर्ने एमबिबिएस विद्यार्थीको चेतावनी


डा. केसीको दशौं अनसन दशौ दिनमा

मंसिर ७, २०७३- मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीनलाई राजिनामा दिन आग्रह गर्दै डा.गोविन्द केसीको आन्दोलनलाई सफल बनाउन आग्रह गरेका छन् । सरकारले डा. केसीले अघि सारेका मागको बेवास्ता गरे सबै प्राज्ञिक र अन्य अस्पतालका सेवा बन्द गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

एनएमएसएसका पदाधिकारी, रेजिडेन्ट चिकित्सक लगायतकाले डिन कार्यालयमा धर्ना दिनुको साथै ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापन पत्रमा संस्थानको भलाइ र गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आम नेपालीको सहज पहँुच स्थापित गर्ने अभियानलाई सफल बनाउन डिन पदबाट राजिनामा गर्न डा.केपी सिंहलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै डा. सिंहले राजिनामा नगर्ने बताएका थिए । नयाँ मेडिकल कलेजलाई सम्बन्धन र एमबिबिएसका विद्यार्थी भर्नामा अनियमितता गर्नका लागि हालको अस्थिरता जारी राखिएको एनएमएसएसका अध्यक्ष डा.सागर पोखरेलले बताए ।

आफूहरु सकेसम्म अस्पताल बन्द नगर्ने पक्षमा रहेको र डा.केसीले समेत जे भए पनि अस्पतालको सेवा जारी राख्नु भन्दै आएकाले हालसम्म विरोधको स्वरुप कडा नगरेको पनि उनले बताए । ‘तर, कसैले सुनिरहेको छैन, १० दिन भयो सरको ज्यान खतरामा पर्ने भएकोले अब अस्पताल बन्द गर्नेसम्मका विरोध गर्न हामीलाई बाध्य पार्न थालिएको छ,’ पोखरेलले भने । अनसन तोडाउने बेला सहमति गर्ने तर पालना नगर्ने सरकारको क्रियाकलापले केसीले दस दसपटक अनसन बस्नु परेको पनि विद्यार्थीहरुले बताए ।

हालसम्म १०२ दिन अनसनमा केसी   
डा.गोविन्द केसीले दसौंपटकको अनसनसम्म गरि १ सय दुई दिन अनसन बसेका छन् । उनको १० औं अनसन मंगलबार १० औं दिनमा पुगेको छ । उनको नवौ अनसन १२ औ दिनमा स्थगित भएको थियो । यस्तै आठौं अनसन १६ औ दिनमा पुगेर तोडिएको थियो । तेस्रो अनसनता १४ दिनको थियो ।

२०६९ साल असार २१ गते शुरु भएको उनको पहिलो अनसन तीन दिनपछि असार २४ गते सरकारसँग सम्झौता भएपछि तोडिएको थियो । गत वर्ष २०७२ सालमा डा. केसीले दुईपटक अनसन गरे । गत वर्ष भदौ ७ देखि १९ गतेसम्म गरी १२ दिन र पुन: असोज २ गते देखि १२ गते सम्म गरी १० दिन अनसन चलेको थियो ।

के हो केसीको माग ?
प्रा.डा.गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्तिलगायतका चलखेलमा त्रिवि उपकुलपति तीर्थ खनियाँ जिम्मेवार रहेको भन्दै उनलाई तत्काल बर्खास्त गर्न र प्राध्यापक बनेको बरिष्ठताको आधारमा डिन नियुक्त गर्न सरकार समक्ष माग गरेका छन् । उनले एमबीबीएस, बीडीएस कार्यक्रमको शुल्क अघिल्लो सालकै जस्तै एमबीबीएसको शुल्क उपत्यका भित्र ३५ लाख, उपत्यका बाहिर ३८.५ लाख र विडीएसको २० लाख रुपैयाँ कायम गर्नु पर्ने पनि माग गरेका छन् ।

डा.केसीको नौ बुँदे मागमा चिकित्सा शिक्षा ऐन नआउदै बिस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नया मेडिकल कलेजलाई सम्बन्धन नदिन उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावलाई निस्कर्षमा पुर्याएर उनलाई कारबाही गर्नुका साथै अर्का आयुक्त राजनारायण पाठकमाथि समेत तत्काल छानबिन अघि बढाउन समेत केसीले माग गरेका छन् ।

पूर्वस्वास्थ्य सचिव जयराम गिरी समितिले दोषी ठहर्याएका संस्थानका पूर्वपदाधिकारीलाई तत्काल कारवाही गर्नुपर्ने, मेडिकल शिक्षामा भएका अनियमितता छानविन गर्न न्यायिक जाँचबुझ आयोग गठन गरी विभिन्न विश्वविद्यालय र प्रतिष्ठानमा परीक्षाका क्रममा भएका धाँधली र अनियमितता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले गरेका अनियमितताको छानबिन गर्नसमेत केसीले माग गरेका छन् ।

यस्तै संसदमा बिचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक र्फिता हुनु पर्ने जनाउदै डा.केसीले सरकारी शिक्षण संस्थानरुमा सत प्रतिसत निशुल्क भर्नाको सुनिस्चितता हुनु पर्ने माग गरेका छन । प्रत्येक प्रदेश/क्षेत्रमा कम्तिमा एउटा सरकारी मेडिकल, डेन्टल, नर्सिङ कलेज खोल्ने सम्झौता तुरन्त कार्यन्वयन गर्नुपर्ने पनि डा.केसीको माग छ ।

साभारः कान्तिपूर अनलाइन