अनलाइनखवर डटकमको अष्ट्रेलिया संस्करण सुरु


australia-editionसिड्नी । नेपालको नम्बर एक न्यूज पोर्टल अनलाइनखबर डटकमको पहिलो अन्तराष्ट्रिय संस्करणका रुपमा ‘अष्ट्रेलिया संस्करण’ सुरु भएको छ ।

सिड्नीमा आयोजित बिशेष समारोहका बिच गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आइतबार  अनलाइनखबर अष्ट्रेलिया संस्करणको औपचारिक उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष घलेले बिश्वभर रहेका नेपालीलाई जोड्न मुख्य भूमीका खेलेको अनलाइनखबरले पहिलो कम्युनिटी संस्करण सुरु गरेकोमा बधाइ ज्ञापन गर्दै सफलताका लागि शुभकामना ब्यक्त गर्नुभयो ।

aus-onlinekhabar-1गैरआवासीय नेपाली अभियान फैलाउन र बलियो बनाउन पनि अनलाइन मिडियाहरुको निकै ठूलो भूमीका रहेको भन्दै नेपालको नम्बर एक अनलाइनले नै अष्ट्रेलिया संस्करण सुरु गर्नु यहाँको नेपाली कम्युनिटीका लागि सुखद कुरा भएको बताउनुभयो ।

अनलाइनखबर डटकमका अध्यक्ष एवं प्रधान सम्पादक धर्मराज भुसालले अनलाइनखबरको ग्लोबल ब्राण्ड र इमेजलाई स्थानीय स्वादसहित अष्ट्रेलियाका पाठकलाई पस्किएको बताउनुभयो ।

‘नेपाली अनलाइन पत्रकारिताको इतिहासमा यो एउटा नयाँ अध्याय हुनेछ भन्ने बिश्वासका साथ पहिलो संस्करण अष्ट्रेलियाबाट सुरु गरेका छौं’ उहाँले भन्नुभयो, नेपालबाहिर हुर्कदै गरेको दोस्रो पुस्तालाई नेपाल र नेपालीसँग जोड्न यो अभियान सफल हुने हामीले बिश्वास लिएका छौं ।’

aus-onlinekhabar-2कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, न्यू साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खडका, चर्चित चिकित्सक डा. कुमुद धिताल, एनअारएनएका अोसिनिया संयोजक महेन्द्र लम्साल, एनअारएन अष्ट्रेलियाका कार्यबाहक अध्यक्ष दिनेश पोखरेल, एनअारएन युवा संयोजक बिजय पोखरेल, नेपाली फ्रेन्ड्स अफ लेबरका संयोजक गोवा कटुवाल, नेपाली फ्रेन्ड्स अफ लिवरलका संयोजक श्री नापित, क्वीन्सल्याण्डका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि स्वतन्त्रप्रताप शाह, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका काउन्सिल सदस्य बिजय सापकोटा लगायत मन्तब्य राख्दै अनलाइनखबरले निस्पक्षतापूर्व यहाँको समुदायका गतिबिधिलार्इ बिश्वमाझ पुर्याउन शुभकामना दिनुभएको थियो ।

समारोहमा सिड्नीस्थित नेपाली समुदायका अगुवाहरु, गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, अष्ट्रेलियास्थित नेपालका अबैतनिक महाबाणिज्यदूतहरु, पर्यटन दूतहरु तथा अष्ट्रेलियामा स्थापित नेपाली ब्यबसायी तथा समाजसेवी एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

अनलाइनखबर