नेपालमै पहिलो पटक कर्णालीबाट विद्युतीय सवारी दर्ता प्रणाली शुरु


२१ श्रावण, सुर्खेत । नेपालमै पहिलो पटक कर्णालीबाट विद्युतीय सवारी दर्ता प्रणाली शुरु भएको छ ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाले आज यातायात व्यवस्थापन कार्यालय सुर्खेतमा एक औपचारिक कार्यक्रमका बीच विद्युतीय सवारी दर्ता प्रणालीको समुद्घाटन गर्नु भएको हो ।

उहाँले देशमै पहिलो पटक सेवाग्राहीलाई यातायात क्षेत्रको सेवा अनलाइन प्रणालीमार्फत घरैदेखि सेवा लिन सकिने कार्यको शुभारम्भ गरेसँगै ‘डिजिटल कर्णाली’ अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । सेवाग्राहीले सबै बढी सास्ती खेप्नुपर्ने यातायात कार्यालयको ढड्डा प्रणालीको अन्त्यसँगै अब छिट्टै स्मार्ट (ब्लु बुक) सवारी धनी किताब ल्याउन उहाँले कर्मचारीलाई निर्देशन समेत दिनु भयो ।

उहाँले यातायात कार्यालयको सेवा लिनका लागि अब सेवाग्राहीको समय बचत हुनुका साथै दलाल, बिचौलियाको सहयोग लिनु पर्ने बाध्यता समेत हटेर जाने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, कर्णाली प्रदेश यातायात व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाई, यातायात व्यवस्था विभागका प्रतिनिधि शिवलाल भुसाल, रुपेश महर्जन एवं यातायात प्रणाली प्रोजेक्टका प्रबन्धक किशोर ज्ञवालीले विद्युतीय सवारी दर्ता प्रणालीको शुभारम्भसँगै कर्णालीमा डिजिटल प्रणालीले सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

साभारः रेडियोनेपाल अनलाइन