सिक्टाको नहरः राष्ट्रिय गौरवको आयोजनामा खेलवाड


स्थानीय भन्छन् मन्त्रीको कम्पनीलाई कारवाही होस्

sikta-nahar-damage1
परीक्षणको क्रममा भत्किएको सिक्टा नहर

१४ मंसिर, बाँके। भूमिसुधार मन्त्री एवम् ठेकेदार विक्रम पाण्डे सञ्चालक रहेको कालिका कन्सट्रक्सन प्रालिले गुणस्तरहीन काम गरेका कारण परीक्षणकै क्रममा भत्किएको सिक्टा सिचाइको नहरका कारण स्थानीयवासीहरु त्रसित छन् ।

तोकिएको समयभन्दा निकै लामो समयसम्म पनि काम सम्पन्न नगरेको कालिकाले निर्माण गरेको राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना परीक्षणकै क्रममा गत असार १४ गते मंगलबार भत्किएको थियो । कालिकाले भत्किएको १५ मिटर नहर पुननिर्माण गरे पनि फेरि भत्किने हो कि भन्ने त्रास स्थानीय उपभोक्तामा अझै हटेको छैन ।

‘भत्किएको नहर कालिकाले निर्माण गरिसक्यो,’ आयोजनाका इन्जिनियर प्रकाश कार्कीले अनलाइनखवरसँग भने, ‘निर्माणमा कमजोरी भएको देखिन्छ ।’

स्थानीयबासीमा त्रास

बाँकेबासीहरुले सिक्टाका आयोजना प्रमुख र ठेकेदार कम्पनी कालिकाको मिलोमतोमा भएका त्रुटी लुकाउन खोजेको आरोप लगाएका छन् ।

निर्माणको झण्डै ७० प्रतिशत काम सम्पन्न भैसक्दा परीक्षणका लागि छाडिएको पानीले बाँके महादेवपुरी-५ ढकेरीस्थित झिझरी खोला छेउमा १५ मिटर नहर भत्काएको थियो । कुल ५० क्युसेक क्षमताको नहरमा परीक्षणका क्रममा जम्मा २० क्युसेक पानी छोड्दा २६ किलोमिटर खण्डको झिझरी खोलाछेउ नहर भत्किएको थियो ।

ढकेरीका स्थानीय बासिन्दा श्रीधर उपाध्यायले नहर फुटेपछि आफुहरु त्रसित भएको बताए । ‘गाउँ नजिकै फुटेको भए सिंगो गाउँ डुबानमा पथ्र्यो’ उनले भने ‘कालिका कन्स्ट्रक्सनले गुणस्तरहीन काम गर्दा स्वदेशी लगानीमा नै बनेको राष्ट्रिय महत्वको देशकै ठूलो सिँचाई आयोजनाको यो हालत भयो, तर कारर्वाही गर्ने कसले ?’

sikta-nahar

ढकेरी गाउँनजिकै रहेको नहर भत्किएपछि स्थानीय बासिन्दा घर छाडेर बाहिर भागेका थिए । मूल नहर कमजोर र गुणस्तरहीन सामग्री प्रयोग गरी निर्माण गरिएको हुनाले भोलिका दिनमा नहरमा पानी छाड्दा पनि भत्किन सक्ने भयले स्थानीय अझै त्रसित छन् । परीक्षणकै क्रममा भत्किएको नहर भोलि बनिहाले पनि कतै फेरि भत्किएर डुवाउने वा बगाउने पो हो कि भन्ने त्रास स्थानीयमा छ ।

विगत ०६३ माघदेखि निर्माण शुरु भएको सिक्टा सिँचाई आयोजना नेपालकै सबै भन्दा ठूलो सिँचाई आयोजना हो । सिक्टा सिँचाई आयोजनाबाट बाँके जिल्लाको करिब ४३ हजार हेक्टर सिचाई सुबिधा दिने लक्ष्य सरकारले लिएको छ ।

बाँकेको अगैयास्थित राप्ती नदीबाट निर्माण गरिएको आयोजना बाँके बर्दियाको सीमाना मानखोलामा गएर टुगिंनेछ । यो आयोजना पूरा भएपछि हालको कृषि उत्पादनमा दोब्बर बृद्धि हुने र बाँकेका ४७ हजार घरपरिवारका ३ लाख कृषकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ ।

sikta

तर, राष्ट्रिय गौरवको आयोजनामा कमसल सामाग्री प्रयोग र पेटी ठेक्का दिएकै कारण नहर भत्किएको आरोप स्थानीयले लगाएका छन् । सिचाई आयोजनाले भने कमसल सामाग्रीका कारण नभई जमिनमुनिको दलदले माटोका कारण नहर भत्किएको दाबी गरेको छ ।

‘तर, जमिनमुनिको माटोको संरचना कस्तो छ भन्ने जाँचपड्ताल पनि गर्न नसक्ने कालिका कन्र्सटक्सनले आफुलाई कसरी ए ग्रेडको ठेकेदार कम्पनी हो भन्दै गफ चुट्दै हिँडेको छ ?’ एक स्थानीयले आक्रोश पोखे । कालिकाको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको स्थानीयको गुनासो छ ।

कुल ४५ किलोमिटर लामो नहरमध्ये १८ देखि ३५ किलोमिटरसम्म कालिकाले करिव १ अर्व ३५ लाखको लागतमा नहर निर्माण गरेको छ । तर, कालिका कन्ट्रक्सन कम्पनीले निर्माण गरेको नहर परीक्षणकालमै भत्किएपछि विकासका काममा हुने लापरवाही उदाङगिनुका साथै सिक्टाको पानीले आफ्नो खेतबारी सिँचाई गर्ने किसानहरुको बर्षौदेखिको सपना पर धकेलिएको छ ।

bikram-pandey

मन्त्री विक्रम पाण्डे

ढुङ्गा, गिट्टी र बालुवा तस्करीको आरोप

कालिकाले सिक्टा सिँचाइका नाममा विभिन्न खोलानालाबाट आफुखुसी परिमाणमा ढुङा गिट्टी बालुवा निकाली तस्करी गरेको आरोप स्थानीयले लगाएका छन । सिक्टा सिँचाईसँगसँगै कालिकाले नेपालगञ्ज उपमहानगरपालिकाको ढल निर्माण र कोहलपुर राजा सडकखण्डसमेत निर्माणको जिम्मा लिएको छ ।

यी परियोजनाका लागि भन्दै ढुङ्गा, गिट्टी, बालुवा निकालेको कालिकाले खोलामा जथाभावी एक्जाभेटरको प्रयोग गरेको र निकालेको नदीजन्य वस्तु अन्यत्र पनि पठाउने गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असोज १५ गत शनिबार सिक्टा सिचाई आयोजनाको निरीक्षण गरेका थिए । सेनाको हेलिकप्टरबाट बाँके आएका प्रधानमन्त्रीले अगैयास्थित निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको बाँध र मूल नहर निरीक्षण गरेका हुन् ।

अवलोकनका क्रममा प्रधानमन्त्रीले आयोजनाको काममा कुनै पनि कमजोरी हुन नदिन कर्मचारीलाई निर्देशन त दिए, तर नहर निर्माणमा लार्पवाही गर्नेहरु माथि कारर्वाही गर्नेबारे केही बोलेनन् । प्रचण्डकै क्याविनेट मन्त्रीले ठेक्का जिम्मा लिएको नहर कम क्षमतामा परीक्षण गर्दा नै भत्किएको विषयमा प्रधानमन्त्रीले कुनै कुरा उल्लेख गर्न चाहेनन् ।

prachand-at-sikta

सिक्टा नहर अवलोकन गर्न आएको प्रधानमन्त्री प्रचण्डसहितको टोली

सिक्टा सिचाई नहर परीक्षणकै क्रममा भत्किएपछि ठेकेदारलाई कारर्वाही हुनुपर्ने माग संसदमा समेत उठेको थियो । सांसदहरुले ठेकेदार बिक्रम पाण्डे र उनको कालिका कन्सट्रक्सनलाई कारर्वाही गर्न माग गरे पनि अहिलेसम्म उनीमाथि कुनै कारर्वाही भएको छैन ।

बाँकेबासीले मात्रै होइन खोटाङबासीले पनि कालिका कन्स्ट्रक्सनमाथि कारवाही हुनुपर्ने माग गर्दै आएका छन् ।

कालिकाद्वारा लापर्वाही भएको स्वीकार

गत असार १४ गते परीक्षणका क्रममा भत्किएको सिक्टा सिचाईमा लापर्वाही भएको कालिका कन्स्ट्रक्सनले स्वीकार गरेको छ । चौतर्फी विरोध भएपछि सिक्टा सिँचाई आयोजनाका तर्फबाट नेपालगञ्जमा पत्रकार सम्मेलन गरी आयोजना प्रमुख सरोज पण्डितले नहर निर्माणका क्रममा आवश्यक ध्यान नदिँदा नहरको केही खण्ड भत्किएको स्वीकार गरेका हुन् ।

पण्डितले त्यहाँ भने ‘परीक्षणका क्रममा एक दुई ठाउँमा समस्या आउनु सामान्य कुरा हो ।’ लाइनिङका ज्वाइन्ट र प्वालबाट पानी चुहिएका कारण नहर भत्किएको उसको दाबी छ ।

निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका निर्देशक युवराज क्षेत्रीले आयोजनाको डिजाइन अनुसार नै निर्माण गरेकाले किन नहर भत्किन पुग्यो भन्ने कुरा आफुहरुलाई थाहा नभएको अभिब्यक्ति दिएका थिए । सिक्टा सिचाई आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी प्रकाश कार्कीले नहर परीक्षण गर्ने क्रममा भत्किनु सामान्य भएको बताए ।

त्यसो त कालिका कन्स्ट्रक्सनले कहिल्यै पनि खुल्ला विज्ञापन मार्फत इन्जिनियरहरु लिँदैन । उसले भनसुनका आधारमा गोजीका इन्जिनियरहरुलाई भर्ना गर्दै आएको गुनासो स्थानीयको छ ।

साभारः अनलाइन खबर