बंगबन्धु गोल्डकपको उपाधिसहित नेपाली खेलाडीहरु स्वदेश फिर्ता


९ माघ, काठमाडौं । बंगबन्धु गोल्डकप फुटबलको उपाधि विजेता नेपाली खेलाडीहरु स्वदेश फर्किएका छन् । खेलाडीहरुको स्वागतमा विमानस्थलमा खेलसम्बद्ध अधिकारीहरु र सर्बसाधारणको उल्लेख्य भिड लागेको छ ।
भिड व्यवस्थित गर्न सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे परेको छ । विमानस्थलको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
स्वागतमा पुगेकाहरुले नेपालको राष्ट्रिय झण्डा, फूलमाला, खादा र बाजागाजा बोकेका छन् । उनीहरुले नेपालको जितको खुसीमा हुटिङ गरिरहेका छन् ।
खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा गराइने छ । पुरानो बानेश्वर, नयाँबानेश्वर हुँदै दशरथ रंगशालामा लगेर खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।
बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप फुटबलको बिहीबारको फाइनल खेलमा बहराइनलाई ३-० ले हराउँदै नेपाली खेलाडीहरुले उपाधि उचालेका हुन् । अन्तराष्ट्रिय फुटबलको उपाधिमा २३ बर्षको संकट टारेका नेपाली खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनही ५ लाख र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनही २ लाख रुपैयाँको दरले पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइरालालगायतले बधाइ दिएका छन् ।

साभारः अनलाइन खबर