झूटा मुद्दामा दलित युवा हिरासतमा


प्रकाश अधिकारी ।

करिब दुई वर्ष लामो प्रेम सम्बन्धलाई यही मंसिरभित्रै वैवाहिक सम्बन्धमा जोड्ने तयारीमा थिए, सालकोट ७ का टीकाराम विक । छिमेकी गाविस बाबियाचौर ८ की कठायत थरकी युवतीलाई मंसिर १० गते दिदीको घरमा ल्याइसकेका थिए ।

माइतीले दलित युवासँग छोरी भागेको थाहा पाएपछि टीकारामले असुरक्षा महसुस गरे । भगाएलगत्तै माइती पक्षबाट व्यापक सोधीखोजी गरियो । ‘बिहेमा अवरोध हुने देखेर इन्डिया जाऊ भनेर पठायौं,’ टीकारामकी दिदी सुशीलाले भनिन्, ‘बेचबिखन गर्न लग्यो भनेर नेपालगन्जमै झूटा मुद्दा लगाएर फसाइएछ ।’pidhit

माइती पक्षको दबाबपछि युवतीले नै टीकारामविरुद्ध मुद्दा दिएको परिवारको आरोप छ । ‘केटाकेटीबीच दुई वर्षदेखि प्रेम थियो । केटीलाई यतातिरको सबै कुरा थाहा थियो,’ उनले भनिन्, ‘अहिले भगाएपछि झूटा मुद्दा लगाएर फसाइयो ।’ १३ गतेदखि बाँके प्रहरीको हिरासतमा रहेका टीकारामलाई प्रहरीले सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाएको छ ।

माइती पक्षले चेलीबेटी बेचबिखन र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएको थियो । टीकारामकी आमा हरिकलाले छोरालाई तल्लो जातको भएकै कारण फसाइएको बताइन् । ‘मंसिरमा बिहे गर्छु भन्थ्यो । कसलाई गर्छस् भन्दा जसलाई गरे पनि गर्छु भन्थ्यो,’ उनले रुँदै पीडा पोखिन्, ‘केटीले मन पराएर बिहे गर्न तयार भई । उल्टै माइतीले मेरो निर्दोष छोरालाई फसाइदिए ।’
युवतीलाई आफन्तले बाबियाचौर स्थित घरमा ल्याएका छन् । १९ वर्षीय टीकारामलाई झूटा मुद्दाबाट जोगाउन आमा हरिकला सहयोगको याचना माग्दै वीरेन्द्रनगरमा आइपुगेकी छन् ।

मानव अधिकारकर्मी संघ–संस्था, राष्ट्रिय दलित आयोगसमक्ष समस्या दर्साए पनि कसैले वास्ता नगरेको विक परिवारले गुनासो गर्दै आएको छ । दिदी सुशीलाले अन्तरजातीय बिहे गर्न खोज्दा यतिसम्म झूटा मुद्दा लगाउलान् भन्ने आफूले नसोचेको बताइन् ।

उता, केटी पक्षकाले टीकारामले जात ढाँटेर बिहे गर्न लागेको बताए । टीकारामले ‘सागर थापा’ भनेर केटीसँग प्रेम सम्बन्ध राखेको उनीहरूको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईले केटी पक्षकाले जीउ मास्ने, बेच्ने र जबरजस्ती करणीसम्बन्धी उजुरी दिए पनि आफूहरूले सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाएको जनाए । ‘प्रहरीले व्यावहारिकता हेरेर सबै कुरा बुझेर मात्र सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाएको हो,’ उनले भने, ‘हाम्रो फसाउने नियत होइन ।’स्रोतः पश्चिमनेपाल ।