नेपाललाई भन्सारछुट सुबिधा दिने सम्बन्धी कानुनमा ओबामाले गरे हस्ताक्षर


वाशिङ्टन – अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि ट्रेड प्रेफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रम सिर्जना गर्ने ट्रेड फेसिलिटेसन एण्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५ (टिएफटिईए), अर्थात् २०७३ सालको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनमा मङ्‌सिर ३० गते हस्ताक्षर गरेका छन् ।

टिएफटिईएले निश्‍चित गलैँचा, शिरपोस, शल, स्कार्फ र भ्रमण सामग्री लगायतका योग्यताका खास मापदण्ड पूरा गर्ने नेपालबाट आयात हुने दर्जनौँ किसिमका वस्तुलाई आधिकारिक रूपमा भन्सारछुट सुविधा प्रदान गर्दछ ।

नेपाल कार्यक्रमलाई १० वर्षका निम्ति स्वीकृत गरिएको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने लक्ष्यका साथ उक्त कार्यक्रम तर्जुमा गरिएको हो ।

अमेरिकी बजारमा भन्सारछुट सुविधासहित प्रवेश पाउन हालसम्म अयोग्य रहेका केही नेपाली निर्यात सामग्रीहरूलाई उक्त कार्यक्रमले भन्सारछुट सुविधा उपलब्ध गराउँदछ ।

काठमाण्डौस्थित अमेरिकी राजदूतावासका अनुसार  यसले एक व्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृति प्रदान गरेको छ, जुन विश्‍व व्यापार सङ्गठनको व्यापार सहजीकरणसम्बन्धी सहमति (टिएफए) को कार्यान्वयनमा नेपाललाई सघाउने कार्यमा केन्द्रित छ ।

“यस कानुनले नेपाली व्यापारव्यवसायका लागि अमेरिकी बजारमा आफ्नो निर्यात विस्तार गर्ने सुनौलो अवसर प्रदान गरेको छ,” अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भनिन् । “यस्ता व्यापार ग्राह्यता कार्यक्रमहरूले केही सहयोग प्रदान गर्दछन् तर लगानीलाई प्रोत्साहन गर्ने नीतिगत सुधार, उन्नत व्यापारिक वातावरण र सबै क्षेत्रलाई सहयोग गर्ने श्रम सुधारमार्फत नै अन्तत: नेपालको बृहत् आर्थिक विकास हासिल हुनेछ ।” उनले थपिन ।

साभारः अनलाइन खबर