लोकमानसँग लय मिलाउँदै बार


nepal-22122016081306-1000x0पुस ७, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्कीको नियुक्तिको बेला चर्को विरोध गरेर निर्णय सच्याउन माग गरेको कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन पछिल्ला दिनहरुमा उनकै अनुकूल हुने गतिविधिमा लागेको छ । आफ्नो स्थापना दिवसको पूर्वसन्ध्यामा बारले लोकमानकै योजना र क्रियाकलापलाई सहयोग हुने काम गरेको छ ।

अघिल्लोपटक मंसिर १६ गते सर्वोच्च अदालतमा लोकमानको मुद्दाको पेशी तोकिएको थियो । त्यसबेला लोकमानको पक्षमा रहेका कानुन व्यवसायीहरुलाई पेशी सार्ने निवेदन दिन निकै कठिन भएको थियो । अन्त्यमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने अघि सरे र बिरामी भएको कारण देखाई पेशी स्थगित गरिदिन निवेदन दिए । उनको निवेदनलाई एक पटकका लागि सर्वोच्च अदालतको पूर्ण इजलासले स्वीकार पनि गर्‍यो र आज बिहीबारका लागि पेशी तोक्यो ।

यसपटक भने लोकमानको पक्षमा खुलेर देखिएका कानुन व्यवसायीहरुले त्यो सकस झेल्नै परेन । छाता संगठन नेपाल बार एसोसिएसनले नै औपचारिक पत्र लेखेर पुस ७ गतेको लागि निवेदन दिने कानुन व्यवसायीको पेशी स्थगित गरिदिन आग्रह गर्‍यो । प्रधानन्यायाधीशलाई सम्बोधन गरिएको र निकै गोप्य राखिएको उक्त पत्र बुधबार ढिलोगरी मात्रै बारले प्रधानन्यायाधीशको स्वकीय सचिवालयमा बुझाएको थियो ।

तर मिति भने पुस ५ गतेकै लेखिएको छ । ‘बाहिरी आवरणमा बार दिवसलाई आधार देखाइए पनि यथार्थमा लोकमानको मुद्दा सार्ने उद्देश्यले नै लेटरप्याडमै निवेदन दिइएको हो’ बारका एक पदाधिकारीले भने, ‘अघिल्ला वर्षहरुमा यस्तो चलन थिएन ।’ बार दिवसको कारण देखाई लोकमानको मुद्दा सार्न उनका पक्षले कानुन व्यवसायीले फेरि निवेदन दिने तयारी गरेका छन् ।

लोकमान नियुक्तिको दिनलाई ‘कालो दिन’ भनी टिप्पणी गर्दै नेपाल बार एसोसिएसनले २०७० बैशाख २५ गते निर्णय सच्याउन आग्रह गर्ने निर्णय गरेको थियो । पछि कानुन व्यवसायीहरुको भेलाले पनि उक्त निर्णय पारित गर्‍यो । बारका निर्णयहरु अन्यथा नभएसम्म त्यसलाई निरन्तरता दिनुपर्नेमा केही पदाधिकारीहरु भने लोकमानलाई अनुकूल हुने निर्णयमा लागेका हुन् ।

प्रधानन्यायाधीशलाई पठाएको पत्रमा बार महासचिव खम्मबहादुर खातीको हस्ताक्षर छ । उनले लोकमानको पक्षमा बहसका लागि प्रक्रिया अघि पनि बढेको थियो । तर पछि भने उनले ‘आफूले लोकमानको पक्षमा वकालतनामा नगरेको र अब पनि नगर्ने’ बताएका थिए । बार अध्यक्ष शेरबहादुर केसीले भने लोकमानको म्याद तामेलीका क्रममा अवरोध गरेको आरोपमा परेका पूर्वकानुन सचिव एवं कृषि विकास बैंकका अध्यक्ष प्रमोद कार्कीको प्रतिरक्षा गर्ने भएका छन् ।

कार्कीको उक्त मुद्दा लोकमानको मुद्दासँग जोडिएको छ । तर बार अध्यक्ष केसीले आफूले लोकमानको प्रतिरक्षा नगर्ने बताइसकेका छन् । बारले दुई वर्षअघि नै औपचारिक विरोध गरेको प्रकरणमा त्यसकै पदाधिकारीहरु पक्षमा वकालत गर्नु नैतिक प्रश्नको विषय हो । तर पनि मुद्दाको कुनै पनि पक्ष लिनु कानुन व्यवसायीको पेशागत अधिकार हो ।

बार दिवसको अवसरमा ललितपुर बारले बिहीबार दिउँसोमात्रै कार्यक्रम राखेको छ । प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा व्यवस्थापनका पदाधिकारीहरु मात्रै सक्रिय हुनुपर्ने भएकाले अरु कानुन व्यवसायीलाई भने असर पर्दैन । ‘त्यसमाथि सुरुमा लोकमानलाई विपक्षी बनाएका कानुन व्यवसायीले बहस गर्ने भएकाले बिहीबार नै उनीहरुको पालो आउन निकै कठिन हुने देखिन्छ’ लोकमानको विपक्षमा वकालतनामा गराएका एक अधिवक्ताले भने, ‘अनावश्यक बाहना बनाएर मुद्दा सार्न खोजेको देखिन्छ । त्यसमा बार नै जोडिनु अझै दुर्भाग्य हो ।’

साभारः कान्तिपूर अनलाइन