बेहोस भएका आचार्यलाई मस्तिष्क घात, स्थिति गम्भीर


काठमाडौं—सुशील कोइरालाको निधनका कारण बेहोस भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यको स्वास्थ्य स्थिति गम्भीर भएको छ। बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका उनलाई मस्तिष्क घात भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

केही वर्षयता उच्च रक्तचापको समस्या सामना गर्दै अाएका नेता आचार्यलाई गम्भीर किसिमको स्ट्रोक भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ‘एक्कासि भएको दुःखद घटनाका कारण उहाँलाई शक भएको हुन सक्छ। ब्रेनको अत्यन्त अप्ठ्यारो ठाउँमा स्ट्रोक भएको देखिएको छ’, उपचारमा संलग्न एक चिकित्सकले नागरिकन्युजसँग भने।

न्युरो अस्पतालको चिकित्सक टोली नेता आचार्यको अप्रेसन गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा निष्कर्षमा पुगिसकेको छैन। ‘हामी केही रिपोर्टहरु हेरिरहेका छौं केही समयपछि अप्रेसन हुन सक्ने नसक्ने थाहा हुन्छ’, अस्पताल स्रोतले भन्यो।

आचार्य मंगलबार बिहान कोइराला निवास महाराजगञ्जमै बेहोस भएका थिए। कोइरालाको निधन भएसँगै रातिदेखि महाराजगञ्जमा रहेका उनी शव राखिएको कोठाबाट ‘केही अप्ठ्यारो भयो’ भन्दै बाहिर निस्केका थिए।


बाहिर पट्टि आउनासाथ उनी बेहोस भएर ढलेका थिए।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति भीमसेनदास प्रधानले उनलाई उपचारका लागि तत्कालै शहीद गंगालाल अस्पताल पुर्‍याए। त्यहाँ उनको उपचार सम्भव नभएपछि तत्कालै नजिकै रहेको न्युरो अस्पतालमा लगिएको थियो। – See more at: साभारः नागरिक न्यूज