२०४२ सालमा भारतले एकपक्षीय रूपमा नेपाली क्षेत्र अतिक्रमण गरी पिलर गाडेको स्थानीयको भनाइ छ
माघ ३, २०७३- २०३२ सालतिर वीरबहादुर सुब्बाले बसोबास सुरु गर्दा मेचीनगर ११ भान्साखोलामा पथ्र्यो उनको जमिन । उनी बस्न थालेको १० वर्षपछि भारतले सीमास्तम्भ सारिसकेको थियो । अहिले उनको सहित १२ घरधुरी भारतीय भूमिमा पर्छन् । ‘सुत्दा नेपालतिरै थियौं,’ सुब्बाले पीडा सुनाए, ‘उठ्दा त भारततिर पो परिएछ ।’
विगतमा नेपाली भूभाग रहेको झापाको मेचीनगर ११ भान्साखोलाको करिब साठी बिघा जति जमिन आफ्नो दाबी गर्दै भारतीय पक्षले सीमास्तम्भ गाडेको उनले बताए । ‘हामी नेपाली हौं,’ सुब्बाले भने, ‘पिलरलाई आधार मान्दा त हामी भारतीय भएका छौं ।’ जमिन भारतले दाबी गरे पनि विकासका पूर्वाधार नेपालले नै उपलब्ध गराएको छ । पानी, बिजुली र सडक मेची नगरपालिकाले उपलब्ध गराएको हो । २०४२ सालमा भारतले एकपक्षीय रूपमा नेपाली क्षेत्र अतिक्रमण गरी पिलर गाडेको स्थानीयको भनाइ छ । ५० र ५१ नम्बरका पिलर साविकको नेपाली जमिनभन्दा करिब ५ सय मिटर वरै गाडिएको छ । त्यसबेला नेपाली अधिकारीहरू पनि आएका थिए । तर, भारतले पिल्लर गाडेको बेवास्ता गर्दै दार्जिलिङ घुम्न गएको स्थानीय कृष्णप्रसाद उप्रेतीले बताए ।
साभारः कान्तिपूर अनलाइन



Prawash Kumar Shakya । ३ माघ २०७३, सोमबार ०५:१० बजे