विद्युतीय शवदाह गृहमा चाप


काठमाडौं: पशुपति क्षेत्रमा वर्ष दिनअघि सुरु भएको विद्युतीय शवदाह गृह प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको छ । गत वर्ष माघ १० गते सञ्चालनमा ल्याउँदा लास नआउने हो कि भन्ने आशंका गरिए पनि अहिले पाँच घन्टासम्म कुरेर जलाउनुपर्ने अवस्था छ ।

पशुपति क्षेत्र विकास कोषले गत वर्ष भूकम्पमा परी बेवारिस बनेका दुईवटा लास जलाएर गृहको सुरुआत गरेको थियो । अहिले दैनिक १६ वटासम्म लास जलाउने गरिएको छ । नेपालमा पहिलोपटक विद्युतीय शवदाह गृह सञ्चालन भएपछि पाशुपत क्षेत्रकै आर्यघाट र भष्मेश्वर घाटमा लास जलाउनेको संख्यामा एक तिहाइ कमी आएको छ ।

कोषअन्तर्गत गृहका प्रमुख कुमार थापामगरका अनुसार आइतबार साँझसम्ममा तीन हजार नौ सय ३४ वटा लास जलाइएको छ । कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले विद्युतीय शवदाह गृहमा सोचेभन्दा धेरै लास आइरहेको बताए । उनले अन्नपूर्णसँग भने, ‘२०७० सालमा कोषमा नेतृत्व समाल्न आउँदा कर्मचारीलाई नै विश्वास थिएन, अरूमा आशंका हुनु स्वाभाविक थियो । भारतका कयौं ठाउँमा नचलेका उदाहरण छन् ।’

२०४५ सालमा कोषमा रहेकै बेला विद्युतीय शवदाह गृहबारे छलफल भएको जानकारी दिँदै उनले थोरै संख्यामा आवश्यकताबोध भए पनि स्थापना गर्नसक्ने अवस्था नभएको बताए । ‘गृहमा दुईवटा मेसिन छन् । दैनिक सरदर १५ वटा लास आउने भएकाले एउटा फर्निसमात्र चलाएका छौं’, उनले थपे, ‘घाटपट्टि मान्छेको आकर्षण कम हुँदै गएको देखिन्छ । झन्डै ७० प्रतिशतले कमी आएको छ ।’

कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले सामाजिक चेतना बढेकै कारण विद्युतीय दहनमा आकर्षण बढेको बताए । ‘२०४० सालसम्म राजधानीमै सेनाले पुलमाथि ब्यान्डबाजा बजाउँदै हिँडे पनि लास खोलाबाटै तार्थे’, उनले भने, ‘घाटमा समय र रकम बढी लाग्ने भएकाले पनि यता बढ्न थालेको हुनसक्छ ।’

घाटमा एउटा लास दागबत्ती दिएपछि जल्न कम्तीमा तीन र बढीमा पाँच घन्टासम्म लाग्छ भने गृहमा सरदर ४५ मिनेटमा जल्छ । घाटमा कम्तीमा ९ हजार र बढीमा २८ हजार रुपैयाँसम्म खर्च हुने कोषका कर्मचारी बताउँछन् । गृहमा तीन हजार रहेकोमा साउनदेखि प्रतिलास चार हजार रुपैयाँ लिने गरिएको छ ।

आर्यघाटमा दुई र भष्मेश्वरमा १० वटा घाटमा लास जलाइँदै आएको छ । कोषसँग घाटमा काम गर्ने कर्मचारी ५१ जना छन् । गृह सुरु हुनुअघि घाटमा दैनिक सरदर ४० वटा लास जलाइने गरेको तथ्यांक छ ।

गृहमा आइतबार शवदाहका लागि एकै समय दुईजना आइपुगे । ‘कतिजनापछि पालो आउँछ ? ‘ दर्तामा रहेका कर्मचारीले भने, ‘एउटा जल्दैछ । तीनवटाको नाम टिपाइएको छ ।’

कम्तीमा चार घन्टा पर्खनुपर्ने भएपछि मुखामुख गरिरहेका उनीहरूले भने, ‘ठिकै छ । उता पनि जल्न चारपाँच घन्टा लागिहाल्छ, नाम दर्ता गरिदिनोस् ।’

पहिलोपटक आफन्तको मलामी बनेर गृह आएका ७४ वर्षीय शेखर अधिकारीले कुरा बुझेपछि भने, ‘मलाई दाउरामै जलाउने ठीक लाग्थ्यो । आज बुझ्दा यही ठीक लाग्यो । घाटमा चारपाँच घन्टा रुवाबासी चल्छ । त्यति नै समय धुवाँ खाएर बस्नुपर्ने हुन्थ्यो । यहाँ जलाउने ठाउँमा छिराएपछि ढुक्क हुने रहेछ ।’

कोषका कार्यकारीनिर्देशक रमेश उप्रेतीले गृहले चौबीसै घन्टा सेवा दिएको र दैनिक २० भन्दा बढी लास आउन थालेपछि अर्को फर्निस (मेसिन) पनि सञ्चालनमा ल्याउने जानकारी दिए । उनले भने, ‘सम्भावना बुझेर कोषले तेस्रो फर्निस स्थापना गरी सञ्चालन गर्ने ठाउँ पनि राखेको छ । यसका लागि सरकारबाट बजेट आएको छ । दाता पनि तयार छन् ।’

मानवशास्त्री सुरेश ढकालले सहरमा विविधता र आधुनिकता भित्रिएको भन्दै शवदाहको कर्ममा पनि परिवर्तन आएको बताए । घन्टौं आफ्नो मान्छेको लास जलिरहेको हेर्न कसैलाई सहज नलाग्ने उल्लेख गर्दै उनले भने, ‘धेरैमा परिवर्तनशील समाजलाई आत्मसात गर्नुपर्छ भन्ने चेतना देखिएको छ ।’

साभारः अन्नपूर्णपोष्ट अनलाइन