दाङ, माघ २७ । लक्ष्मीपुर गाविस–२ की भुमा विक अहिले गाविसस्तरमा हुने कार्यक्रमहरुमा सहभागी हुन थालेकी छिन् । आफ्नो टोलदेखि गाविस स्तरमा के कस्ता कार्यक्रमहरु हुन्छन् र त्यहाँ के के गरिन्छ भन्ने बारेमा अचेल उनलाई थाहा हुने गरेको छ । ५० वर्षिया भुमा विकले अहिले आफ्नो टोलमा आउने बजेट सञ्चालन गरी कार्य गर्ने बारेमा पनि थाहा पाउँछिन् ।
पुरुषहरु मात्र सहभागी हुने प्रायः कार्यक्रमहरुमा अहिले भुमालगायतका धेरै महिलाहरु छुट्दैनन् । गाविसका राजनीतिक दलहरु सहभागी हुने कार्यक्रमदेखि टोलहरुमा हुने बैठक, सभा तथा अन्य कार्यक्रमहरुमा भुमा पुगेर कुरा बझ्दै आएकी छिन् ।
यस्तै लक्ष्मीपुर–७ सुनपुरकी हेमा सुनारलाई केहि वर्ष पहिलेसम्म समूहको बीचमा उभिएर बोल्न समेत डर लाग्थ्यो । गाउँघरमा हुने विभिन्न बैठकहरुमा सहभागी हँुदै आएकी हेमालाई उठेर आफ्नो नाम र केहि कुरा गर्न समेत नसक्ने उनले सम्झन्छिन् । तर, समूहगत रुपमा विभिन्न कार्यक्रमहरुमा नियमित रुपमा सहभागी हुने, छलफलमा भाग लिने गर्दै आएपछि अहिले आफ्ना मनका कुरा निर्धक्कका साथमा गर्न सक्ने भएकी छिन् । ३० वर्षिया हेमाले पारिवारिक समस्याका कारण पढ्न नपाएको भए पनि अहिले गाउँघरमा हुने जस्तोसुकै कार्यहरुका लागि पनि हेमाको सहभागिता चाहिने गरेको छ ।
गाविस तथा जिल्लास्तरसम्म आफ्नो पहुँच पुर्याउन नसकेको भए पनि टोल तथा छरछिमेकहरुमा हुने गरेको विभिन्न कार्यक्रमहरुमा उनले नेतृत्व गर्दै आएकी छिन् । जति पछाडि पर्दै गयो धेरै कुराहरु जान्नबाट बन्चित हँुदै गइने उनको अनुभव छ । लक्ष्मीपुर जिल्ला सदरमुकाम घोराहीसँग जोडिएको गाविस भए पनि धेरै महिलाहरु विकास, सुचना र सहभागिताबाट बञ्चित रहदै आएका थिए । तर, पछिल्लो समय हुने गरेका केहि कार्यक्रमहरुमा महिला सहभागिता ह्वात्तै बढेको पाइएको छ ।
एक दर्जन बढि सामाजिक संघसंस्थाहरुले स्थानीय महिलाहरुको क्षमता विकास, नेतृत्व गर्ने शैलीको बारेमा जानकारी दिने, उनीहरुलाई आत्मनिर्भरतालाई बढाउन लगानी गर्नेलगायतका कार्यक्रमहरुमा सहयोग गर्न थालेपछि महिलाहरुमा आत्मविस्वास बढ्दै गएको पाइएको छ ।
लक्ष्मीपुर गाविसमा लामो समयदेखि सामाजिक कार्य गर्दै आउनु भएकी पार्वता सुवेदीले महिलाहरुलाई अवसरको खाँचो रहेको बताइन् । सामुदायीक मेलमिलाप केन्द्रकी संयोजक समेत रहेकी सुवेदीले महिलाहरुलाई आत्मनिर्भरताको बाटोमा लगाउनु आवश्यक भैरहेको अनुभव सुनाउनुभयो । आर्थिक रुपले सशक्त बनेका महिलाहरु समाजमा अगाडि आउन कुनै समस्या रहेको भन्दै उनले आर्थिक विकासले महिलाहरुलाई आत्मविस्वास बढाउन सहयोग पुग्ने बताइन् ।
त्यसो त अहिले पनि धेरै महिलाहरु घर आँगन तथा चुलोचौकोमै सीमित रहेका छन् । तर, हिजोको तुलनामा धेरै महिलाहरुले आफूलाई परिवर्तन गर्दै आएका मात्र छैनन् । समाजको नेतृत्व समेत गर्न थालेका छन् । समाजमा पुरुषहरुको कमी हुन थालेको बेला महिलाहरु समाजको विकास र परिवर्तनका क्षेत्रमा क्रियाशील हुन थालेको पाइएको छ । रोजगारीका लागि बैदेशीक रोजगारीमा जाने युवाहरु बढेको, गाउँबाट युवाहरु अध्ययनका लागि सहर झरेको बेला गाउँमा महिलाहरुले नै समाज चलाएको विश्लेषण पनि हुन थालेको छ ।
सेसी नेपालको सहयोगमा सिसा नेपालले सुशासन र बित्त व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रमले गाविसमा रहेका महिलाहरुलाई जागरुक बनाएको छ । साथै स्थानीय रुपमा गठन भएका आमा समूह, महिला समूह, युवा क्लवहरुले महिलाहरुको विकासको क्षेत्रमा लागिपरेको गाविस सचिव पुनाराम गिरीले जानकारी दिएका छन् । उनका अनुसार गाविसले महिलाहरुको विकास र सशक्तिकरणका लागि समेत बजेट छु्ट्याउदै आएको छ । त्यो बजेट महिलाहरु स्वयं आफैले खर्च गर्दै मात्र आएका छैन् ।
महिलाहरुको विषयमा कार्यक्रमहरु तथा बजेट निर्धारणको समयमा समेत आफ्नै गर्ने गरेका छन् । महिला सशक्तिकरण, विकास र सोचको परिवर्तनका लागि एकै पटक बजेट छुट्याएर नहुने भन्दै यो समस्याको समाधान क्रमशः हँुदै जाने गाविस सचिव गिरीले बताउनुभयो ।
साभारः दाङ्गखबरअनलाइन



Prawash Kumar Shakya । २७ माघ २०७३, बिहीबार ०१:४७ बजे