
२७ असोज, ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साताैं वार्षिक साधारणसभामा “राष्ट्रिय रक्तनायक एवं रक्तदाता सम्राट” नेपालका सर्वाधिक रक्तदाता (१७५ पटक) प्रेमसागर कर्माचार्यलाई सम्मान गरेको छ ।
सहकारीले समाज सेवाकाे क्षेत्रमा विशेष याेगदान पुर्याउने एकजना व्यक्तिलाई सम्मान तथा नगद पुरस्कार प्रदान गर्ने निर्णय अनुसार प्रथम पटक नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “राष्ट्रिय रक्तनायक एवं रक्तदाता सम्राट” कर्माचार्यलाई सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै कर्माचार्यले यो सम्मानले अझै स्वयंसेवी रक्तदाताहरु जम्माउन प्रेरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो “प्रत्येक यूवाहरुले आफ्नो १८औं जन्मोत्सव सँगसँगै मानवीय जीवनको महानकार्य रक्तदानमा लाग्न अनुरोध गर्दछु । साथै आफुले पाएको २५ हजार नेपाल स्वयंसेवी रक्तदाता समाजकाे रक्तदाता उत्प्रेरणा गतिविधिमा प्रयोग गर्नेगरि संस्थालाई हस्तान्तरण गर्दछु ।”
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जीतलाल महर्जनले मानवीय जीवनको उत्कृष्ट कार्यमा आफ्नो जीवन नै समर्पण गर्नुभएको व्यक्तिलाई सम्मान गर्न पाउँदा गर्वको महशुस गरेको बताउनुभयो ।
सहकारीकाल उपाध्यक्ष राज महर्जनले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा अतिथिहरू सिटिजन लाईफ ईन्स्याेरेन्सका सि.ई.ओ. सुनिल पाेखरेल, सिकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तीर्थराम डंगोल, पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाका सि.ई.ओ.राजु खतिवडा, राष्ट्रिय सहकारी बैंक, न्यूरोड शाखा प्रमुख रमा घिमिरे र महालक्ष्मी नगरपालिका सहकारी शाखा प्रमुख उर्मिला ढकाल रहनुभएकाे थियो भने सभा सहकारीका अध्यक्ष किशाेर महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।



Prawash Kumar Shakya । २७ आश्विन २०८०, शनिबार १७:४९ बजे