मधेसी मोर्चासँग शीर्ष स्तरमै वार्ता गर्ने तीन दलको निर्णय


६ माघ, काठमाडौं । प्रमुख तीन दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शीर्ष स्तरमा नै वार्ता गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले बिहीबार विहान ९ बजे मधेसी मोर्चालाई वार्तामा बोलाएको छ । कार्यदलमा जहाँ अडि्कएको थियो, त्यहाँबाट अघि छलफल गर्ने र माघ ९ गतेभित्र प्याकेजमा नै सहमतिको प्रयास गर्ने प्रमुख तीन दलको निर्णय छ ।
सोमबारको बैठक भाँडिएपछि मधेसी मोर्चाले कार्यदल भंग गर्दै शीर्ष स्तरमा मात्र वार्ता गर्ने निर्णय गरेको थियो ।
कार्यदल स्तरको वार्तामा तीन दल र मधेसी मोर्चा अधिकांश मुद्धामा सहमत भएका छन् । सीमांकनबारे तीन महिनाभित्र निर्णय गर्न राजनीतिक संयन्त्र बनाउन मधेसी मोर्चा सहमत भइसकेको छ ।
तर, राजनीतिक संयन्त्रको टीओरआरमा मधेसमा दुई प्रदेश र सीमांकन हेरफेर हुन्छ भन्ने संविधानको अनुसूचीमा राख्नुपर्ने मधेसी मोर्चाको मागमा सहमति नभएपछि तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरको वार्ता भाँडिएको थियो ।
सहमति नभए एकतर्फी सम्बोधन
तीन दलले मधेसी मोर्चासँग सहमति नभए संविधान संशोधनमा एकतर्फी सम्बोधन गरेर अघि बढ्ने संकेत दिएका छन् । संविधान संशोधन विधेयकमा परेको संशोधन वा के गरेर हुन्छ सम्बोधन गर्ने तीन दलको निर्णय छ ।
समानुपातिक समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी माग सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसदमा लगेको छ । तर, यसमा प्रमुख विपक्षी कांग्रेस र सत्तारुढ एमाओवादीका सांसदले नै संशोधन दर्ता गराएका छन् ।
कुन संशोधन प्रस्ताव पारित गर्दा सबैका भावना समेट्न सकिन्छ भन्ने विषयमा गृहकार्य गर्न तीन दलीय कार्यदललाई जिम्मेवारी दिएको छ । कार्यदलले दर्ता भएका मध्ये कुनै एक संशोधन प्रस्ताव अनुसार विधेयक पारित गर्ने वा विभिन्न संशोधन प्रस्तावलाई परिमार्जन गर्न समिति गठन गर्ने भन्ने विषयमा सुझाव दिने नेपाली कााग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

-साभारः अनलाइन खबर