आन्दोलनरत कर्मचारी र सरकारवीच वार्ता हुँदै


ministry-of-local-development-Sthaniya-Bikas-768x474५ फागुन, काठमाडौं । कार्यालय नै ठप्प पारेर आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारी र सरकारवीच आज पुनः वार्ता हुँदैछ । बुधबार संघीय मामला तथा स्थानीय विकास मन्त्रालयमा भएको वार्ता सहमतिमा पुग्न नसकेपछि आज पुनः छलफल हुन लागेको हो । आज सकेसम्म सहमतिमा पुग्ने गरी गृहकार्य गरेको स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताएका छन् ।

आन्दोलनरत कर्मचारीहरुले वार्तामा स्थानीय तहमा रहेका करार र अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने, अहिलेको संक्रमणकालीन व्यवस्थामै उनीहरुलाई पनि स्थानीय तहको प्रमुखको जिम्मेवारी दिनुपर्ने र निजामति कर्मचारी सरह सुविधा पाउनु पर्ने माग राखेका थिए । मन्त्रालयले उनीहरुको माग तत्काल सम्बोधन गर्न नसकिने जवाफ दिएपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन ।

मन्त्रालयले कर्मचारी व्यवस्थापन र सेवा सुविधाका विषयलाई नयाँ बन्ने कानुनमा समेट्ने जवाफ दिएको छ । यस्तै स्थानीय तहको कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने माग पनि कानुन बनाएर मात्र गर्न सकिने बताएको थियो । मन्त्रालयले आन्दोलनरत कर्मचारीलाई स्थानीय तहका कार्यालय बन्द फिर्ता लिएर वार्तामा आउन आग्रह गरेको छ ।

साभारः अनलाइनखबर