क्षेत्रीय खेलकुद महोत्सव, पूर्व ओलम्पियनहरू सम्मानित


नेपालगन्ज, ८ वैशाख ।
यहाँ सञ्चालित प्रथम मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद महोत्सवका अवसरमा चार जना पूर्व ओलम्पियन खेलाडी र एक जना खेल पदाधिकारीलाई सम्मान गरिएको छ । मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिद्वारा सञ्चालित महोत्सव उद्घाटन समारोहमा खेल पदाधिकारी रतनकुमार टन्डन, पूर्व ओलम्पियन सुरेन्द्रबहादुर हमाल, अनिता श्रेष्ठ, पार्वती थापा र हरिबहादुर रोकायलाई सम्मान गरिएको हो ।
यसैगरी, केही महिनाअघि नेपालगन्जमा सञ्चालित दक्षिण एसियाली भारोत्तोलन प्रतियोगितामा महत्वपूर्ण योगदान पु¥याउनु भएका उद्योगपति तथा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य रोहितकुमार टन्डनलाई पनि नेपाल भारोत्तोलन सङ्घले सम्मान गरेको छ । सम्मानित व्यक्तित्वलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारा राखी आजदेखि खेल प्रतियोगिता सुरु भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद प्रतियोगितामा ह्यान्डबल, कराते, उसु, चेस, तेक्वान्दो, जुडो, भलिबल, महिला फुटबल, टेवलटेनिस, ब्याडमिन्टनलगायत १६ खेलमा करिब एक हजार २०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै खेलकुदको विकासमा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा प्रतिष्ठानलाई पनि सम्मान गरिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष अकलबहादुर बमले बताउनुभयो ।