पारस खड्का स्वयंमसेवक नेपालको सद्भावना दूत नियुक्त


१८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयंमसेवक नेपालको सद्भावना दूतमा नियुक्त भएका छन् ।Paras-Khadka

भूकम्पपछि पुनर्निर्माणका लागि स्वयंमसेवक युवाहरुलाई सक्रिय बनाउन पुनर्निर्माण प्राधिकरणले खड्कालाई स्वयंमसेवक नेपालको सद्भावना दूतमा नियुक्त गरेको हो ।

प्राधिकरणको बुधबार बसेको बैठकले भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्वासमा सहयोगका लागि एक लाख स्वयमसेवक युवाहरुको सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ खड्कालाई सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणले जनाएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माणलाई चुस्त बनाउन नेपाली युवाहरुको जोशलाई सदुपयोग गर्ने उद्देश्यले खड्कालाई सद्भावना दूत बनाइएको राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले जानकारी दिए ।

राष्ट्रिय स्वयमसेवकको सद्भावना दूतमा नियुक्त हुनु आफ्ना लागि गौरवको विषय भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए ।

राष्ट्रिय स्वयमसेवक नेपालले युवाहरुलाई स्वयमसेवाप्रति आकषिर्त गर्दै देशमा आइपर्ने विभिन्न प्रकोपका बेला पीडितहरुलाई सहयोग गर्दै आएको छ । ३७ जिल्लामा विस्तार भएको सञ्जालले ६९६ वटा भूकम्पप्रतिरोधी घर बनाएको छ ।