कमल न्यौपाने
नेपालगंज , १९ फागुन । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कुमार गौतम मंगलबार राति त्रिवेणीमोडतिर चोकतिर गस्तीमा निस्किएका थिए । करिब १० बजेतिर उनको नजिकै एउटा अटो रिक्सा आईपुग्यो । यत्रीहरुसहित अटो रिक्सा कुदाउँदै थियो एक जना कलिलो बालक । कलिलो बालकले रिक्सा कुदाएको देखेपछि प्रहरी निरीक्षक गौतमले रोके । रिक्सामा बसेका बृद्धा महिलाहरुलाई अर्को रिक्साको व्यवस्था गरेर गौतमले गन्तब्यमा पठाए । रिक्सा कुदाईरहेका १३ बर्षे देबजङ्ग बमको साथमा अर्का ९ बर्षे बालक पनि थिए । जो देबजङ्गका भाई थिए । ६ महिनाअघि कालिकोटबाट नेपालगन्ज पसेका उनीहरु परिवार पाल्न प्रहरीको आँखा छलेर रातिमा रिक्सा चलाउने गर्दारहेछन् ।
घरपरिवार छोडेर बाबु बेपत्ता भएपछि आफ्नी आमा र चार भाइबहिनी पाल्न दाजुभाई मिलेर रातिमा रिक्सा चलाउँदै आएको प्रहरीको सोधपुछबाट थाहा लाग्यो । कालिकोट छाप्रे गाविसमा रहेको सानो छाप्रो पनि भत्किएपछि गुजारा गर्न उनीहरु नेपालगन्ज झरेका रहेछन् । आश्रय खोज्दै मामाको शरणमा आएका बमको परिवार अहिले सल्यानीबागस्थित एउटा घरमा सानो कोठा भाडामा लिएर बसेको छ । रिक्सा चलाउँदै आएका देवजङ्ग परिवारका जेठा छोरा हुन् ।
सल्यानीबागस्थित आधारभूत निम्न माध्यामिक विद्यालयमा कक्षा ८ मा पढ्दै गरेका उनीमाथि अहिले आफ्नो पढाईमात्र नभई आमा र भाईबहिनीलाई पनि पाल्नुपर्ने बाध्यता छ । प्रहरी निरीक्षक गौतमले सोधपुछ गर्दैगर्दा देवजङ्गले भने ‘घरखर्च र पढाई खर्च निकाल्न रिक्सा चलाउन लागेँ । सँधै पुलिसलाई छलेर भाग्थेँ, आज सरले समाईहाल्नुभो ।’ देवजङ्गको कुरा सुनेर भावुक बनेका प्रहरी निरीक्षक गौतमले दुई भाईलाई बसाएर मःम ख्वाए । ‘रिक्साबाट ओरालेपछि सोधपुछ गरेँ, बिचराहरु भोकै रहेछन्, त्यसैले मःम ख्वाउँदै छु’ गौतमले भने ‘स–साना बालकलाई कसरी रिक्सा चलाउन दिनु ? एकातिर दुर्घटनाको खतरा अर्काेतिर बालअधिकारको पनि हनन् ।’ उनका बाबु र आमाको सम्बन्ध कहिल्यै राम्रो भएन रे ।
सँधै झगडा भईरहन्थ्यो । अधिकांश समय भारततिरै रमाईरहने उनका बुवा लामो समयदेखि फर्केका छैनन् । न खर्च पठाएका छन्, न त कुनै खबर । ‘कापी कलम किन्नुप¥यो, भाइबहिनी, आमा सबैको खर्च उठाउनुप¥यो । त्यै भएर रातिराति रिक्सा चलाउँछु, दिउँसोमा मामाले चलाउँछन् ।’ देवजङ्गले भने । यसअघि उनीहरु केही समय माइतीघरका बुवाको घरमै पनि बसे । त्यसपछि आमाले भाइसँग शरण मागिन् र नेपालगन्ज पसे । त्यसपछि देवजङ्ग र उनका भाइबहिनी यहीँको सरकारी स्कूलमा भर्ना भए । सरकारी विद्यालयमा भर्ना र अन्य शुल्क नलागे पनि कपी, कलम र अरु चाहिने सामान किन्ने पैसा जुटाउनुपर्ने भयो । केही समय मामासँगै बसे पनि पछि छुट्टै डेरा गर्नुपर्ने अवस्था आयो । दुई छाक खान पनि धौधौ प¥यो । आमाले एउटा निजी अफिसमा सरसफाईको काम काम गर्थिन् । स–साना छोराछोरी स्याहार्न समय दिनुपर्दा त्यो पनि छुट्यो । फेरि पनि देवजङ्गकी आमा गर्भवती छिन् ।
देवजङ्ग दिनमा स्कूल जान्थे, साँझ मामा फर्केपछि उनको रिक्सा लिएर निस्किन्थे । कमाएको केही पैसा मामा र उनले बाँड्थे । स–साना केटाकेटीलाई रिक्सा नदिन भन्दै प्रहरीले देवजङ्गको परिवार र उनका मामालाई बुधबार बिहान वडा प्रहरी कार्यालयमा बोलाएको थियो । जहाँ देवजंगकी आमा प्रमिलाले सबै कथा–व्यथा पोखिन् । उनको व्यथा सुनेपछि वडा प्रहरीमा पुगेका सहृदयी मन भएका केही मानिसहरु मिलेर चामल, नून, तेललगायतका सामाग्री दिए । एउटा २ वर्षको काखे बच्चा पनि छ, प्रमिलासँग । अरु पनि लगातार जन्मिएका छोराछोरी छन् । ती सबलाई स्याहार्नुपर्छ । प्रहरीले जनाए अनुसार कहिलेकाहीँ आउने प्रमिलाका लोग्ने झगडा गर्छन्, उनलार्ई कुटपिट गर्छन्् । अनि फेरि वेपत्ता हुन्छन् । त्यसो त पढाई र घर खर्चका लागि रिक्सा चलाउँदै गरेका देवजङ्गले धेरै पढ्ने सोंच राखेका छैनन् । सानै उमेरमा सिंगो परिवारको जिम्मेवारी बोकेका देवजङ्गले कसरी परिवार पाल्ने भन्ने बाहेक अरु सोच्न भ्याएका छैनन् ।
प्रहरी निरीक्षक गौतमले किनिदिएको मःम का डल्ला भाईबहिनीलाई लगिदिन पोको पार्दै गरेका देवजङ्गले भने, ‘दश कक्षसम्म पढ्ने हो अनि ड्राईभर भएर पैसा कमाउने हो ।’ उमेर सानै भए पनि उनको कुरा गराई परिपक्व छ । कसैसँग पनि धक नमानेर बोल्न सक्छन् । बालापनमै जिम्मेवारीले थिचिएका देवजङ्ग रिक्सा चलाएर परिवार पाल्ने विकल्पबाट पनि विमुख हुने भएपछि अहिले भने चिन्तित छन् ।



Prawash Kumar Shakya । १९ फाल्गुन २०७३, बिहीबार ०८:३४ बजे