गायिका मौसमी गुरुङको जीवन संघर्ष


‘करियरभन्दा संघर्ष जटिल

57764753c9cd81.78492253एक समय ‘साह्रै मीठो रैछ कुवाको पानी’, ‘परेलीमै छौ कि कसो’, ‘च्याङ्बा ओइ च्याङ्बा’, ‘देशै रमाइलो’, ‘चोरेर लग्यो’, ‘कपालै कोरी, चिटिक्कै परी’जस्ता गीत बजार गुञ्जायमान थिए । गीतका भाका लाखौं श्रोताको मुखमा झुन्डिएका थिए ।

आज पनि यी गीत सुनेर आनन्द लिने श्रोताको संख्या कम छैन । यद्यपि यी शब्दमा सुरिलो आवाज सजाउने गायिकाको नाम सबै श्रोतालाई कण्ठस्थ नहुन सक्छ ।

सन् १९७९ मा भारतको कलकत्तामा जन्मिएकी मौसमी गुरुङको मेलोडियस संगीतको छुट्टै स्वादजस्तै जीवन कथा पनि फरक छ ।

जटिल अप्रेसनको सफलतापछि उनी यतिबेला सांगीतिक क्षेत्रमा पुनः चर्चामा छिन् । क्याप्टेन नैनासिंह गुरुङ र चिनीमाया गुरुङको कोखबाट जन्मिएकी उनको शिक्षादीक्षा भारतकै विभिन्न सहरमा भयो । लखनउबाट एसएलसीसम्मको शिक्षा लिएकी उनले प्लस टुसम्मको शिक्षा शैक्षिक सहर देहरादुनमा लिइन्।

भारतीय सेनामा कार्यरत पिता नैनसिंहको जागिरको सिलसिलामा उनले त्यहाँका सहर, संस्कृति र जीवन छाम्ने मौका पाएकी हुन् ।

सन् २००१ मा नेपाल फिरेपछि उनले आफूभित्रको रुचिलाई माझेर कला क्षेत्रमा टल्काउने जमर्को गरिन् । गन्धर्व संगीत केन्द्रमा संगीत सिक्न थालिन् ।

संगीतकार डीबी गुरुङको एल्बममा ‘देशै रमाइलो’ बोलको गीत गाएर देशप्रेम दर्शाइन् । ‘धेरैले गीत रुचाए’, गायिका मौसमीले स्मरण गरिन्, ‘त्यसले मभित्र अब झन् राम्रो गर्नुपर्छ भन्ने बोध गरायो ।’

चार वर्षको संंगीत प्रशिक्षणपछि उनले रेडियो नेपालमा स्वर परीक्षा पास गरिन् । जीवन चलाउने केही समय उनले शिक्षिकाको रूपमा समेत काम गरिन् ।

देशै रमाइलो पछि उनको गायन क्षेत्रमा रमाइला क्षणहरू थपिँदै गए । २०६० सालमा मौसमीको एकल एल्बम ‘अनफरगेटेबल’ बजारमा आयो ।

एल्बमका परेलीमै छौ कि कसो र मेरो मन बोलको गीतले उनलाई चर्चामा ल्यायो । त्यसपछि च्याङ्बा ओई च्याङ्बा, कान्छी हो कान्छी, लाहुरेकी छोरी हुँ म, साह्रै मीठो रैछ कुवाको पानीजस्ता गीत श्रोता दर्शकमाझ आएपछि त उनी नेपाली सांगीतिक क्षेत्रमा सफल गायिकाको पर्याय बनिन् ।

कर्मभन्दा पर केही नसोच्ने उनी कहिल्यै सम्मान पुरस्कारको पछि लागिनन् । तै पनि उनले हिट्स एफएम अवार्ड, इमेज एफएम अवार्ड र दुई पटक कान्तिपुर अवार्ड हात पारिन् । ‘अनफरगेटेबल’पछि ‘पल’, ‘महसुस’जस्ता एल्बम श्रोतामाझ ल्याएकी उनले विभिन्न मुलुकमा आफ्नो गीत प्रस्तुत गरिसकेकी छन् ।

ट्युमरको तनाव

सांगीतिक कार्यक्रमको शिलशिलामा उनी पाँच महिनाका लागि बेलायत गएकी थिइन् । त्यहीबेला उनमा आलस्यता बढ्यो । निद्रामात्रै लाग्न थाल्यो । हुँदाहुँदा आवाजमा असर पर्‍यो । हाइनोटमा गाउनै नसक्ने भइन् । ‘गाउँदागाउँदै बेसुरा हुन थालेँ’, गायिका मौसमीले दुःखको त्यो क्षण सम्झिन्, ‘लङदेखि सर्ट ट्वाइलेटसमेत अनकन्ट्रोल हुन थाल्यो, म त फ्रस्टेड नै भएँ ।’

भाइको सल्लाहमा उनी नेपाल फर्किइन् । मेडिकेयर, टिचिङ हुँदै न्युरो अस्पतालसम्म उपचारका लागि यात्रा गरिन् । ‘कसैले पत्ता लगाएन्’, मौसमीले भनिन्, ‘निकै गाह्रो भएपछि न्युरोले एमआरआई गर्‍यो, अनि पत्ता लाग्यो, टाउकोमा मासु पलाएको रहेछ ।’ त्यसबेला मौसमीलाई ठूलो पीडाबोध भयो ।

गायिका मौसमीको उपचार डा. उपेन्द्र देवकोटाले गर्ने भए । ‘उपचारका क्रममा डा. देवकोटाले ब्रिफ गर्दा निकै डर लाग्यो’, उनले भनिन्, ‘डाक्टरले बायाँ अंगमा असर पर्न सक्छ, कान नसुन्ने, आँखा नदेख्ने वा मुख बांगिने आधाआधा सम्भावना रहन्छ भन्नुभयो । रोग लागेकोभन्दा रोगले छोड्ने साइड इफेक्टको चिन्ताले मलाई थप घाइते बनायो ।’

संगीतको सुरले देशविदेशका श्रोताको मन जितिसकेकी मौसमी यतिबेला आफैंसँगको संघर्षमा एक्लो थिइन् । यद्यपि उनको स्वास्थ्यलाभकोकामना गर्ने परिवार, शुभेच्छुक र भौतिक रूपमै निको पार्न सक्रिय डाक्टरको टिम थियो ।

११ मार्च २०१४ मा सफल अप्रेसनपछि उनलाई आईसीयूबाट क्याबिनमा सारियो । क्याबिन कोठामा टीभी खुला थियो । टीभीमा ‘सावन आया बादल छाया’ बोलको हिन्दी गीत बजिरहेको रहेछ । त्यही गीतसँगै गाउन सुरु गरिन् ।

श्रीमान् रेशम गुरुङसहित परिवारका मानिस अलमलमा परे । ‘दुरुस्तै गीत गाउन सकेपछि म त खुसीले उफ्रिएँ’, गायिका मौसमीले भनिन्, ‘मेरो बायाँ कान स्पष्ट थियो, आँखा पनि दुरुस्त थियो ।

त्यो खुसीको बयान गर्न मसँग शब्द नै छैन ।’ त्यसपछि उनले फेरि आफ्नै गीत ‘साहै्रै मिठो रैछ कुवाको पानी’ गाएर आफैंलाई जाँचिन् । त्यसपछि जिन्दगी झनै मीठो लाग्यो । त्योभन्दा मीठो प्रकृतिको उपहार जिन्दगी धन्य लाग्यो ।

निष्क्रिय बस्नै नसक्ने मौसमी यतिबेला फेरि चर्चामा छिन् । केही वर्षको अन्तरालपछि श्रोता दर्शकमाझ आएको ‘अलि अलि गर्दा गर्दै’ बोलको गीतले अहिले चर्चामा ल्याएको छ ।

करियरको संघर्षभन्दा जटिल जीवन संघर्षमा जित हात पारेकी मौसमी अहिले फेरि दिमागमा पलाएको अर्को मासुका कारण हरेक ६ महिनामा अस्पताल पुग्न बाध्य छिन् । ‘आत्मविश्वास पनि केही रहेछ, त्योभन्दा ठूलो औषधि श्रोता शुभेच्छुकको माया हो झैं लाग्छ ।’

साभारः अन्नपूर्ण पोष्ट