माटोलाई सुन्दर आकार दिँदै कलिला हात


७ चैत्र, ललितपुर- पाटन च्यासलकी ६ वर्षीया मनस्का महर्जन दिउँसो २ बजेपछि छिनछिनमा समय सोधेर आमा समिनालाई हैरान पार्छीन्। ३ नबज्दै मनस्काजस्तै हतारमा हुने करिब ४५ जना साना बालबालिका पाटनस्थित ज्यापु समाज प्रज्ञा भवनमा पुगिसक्छन्। प्रशिक्षक गौतम महर्जन भक्तपुरबाट किलोका दरले किनेको माटो सबै बालबालिकाबीच बाँडछन्। करिब दुई घन्टामा कलिला हात भक्तपुरे माटोलाई सुन्दर आकारमा ढाल्छन्। त्यसपछि गरिने रंगले माटोका आकार जीवन्त पारिदिन्छ।

भवनको माथ्लो तलामा ६–१४ वर्ष उमेर समूहका बालबालिकाले आकार दिएर रंगाएका माटोका सयौं आकृति देख्न सकिन्छ। ज्यापु समाज यलाले चैत २२ देखि बिदामा घर बसेका स्थानीय बालबालिकालाई माटोबाट विभिन्न सामग्री बनाउने अनौपचारिक शिक्षा दिने व्यवस्था गरेको हो।
‘मम्मी कति बज्यो भनेर हैरान पार्छे। उसलाई कतिबेला त्यहाँ जाउँजस्तै हुन्छ। बिदामा केही सिक्ने र रमाउने मौका जुरेको छ,’ मनस्काकी आमा समिनाले भनिन्। उनले घरमा टेलिभिजन हेरेर बस्ने मनस्कालाई स्कुल बिदा सदुपयोग गर्न त्यहाँ लगेको बताइन्। मनस्काकै उमेर समूहका बालक सरवेन महर्जनले पनि यसरी खेल्दै सिक्न पाउँदा रमाइलो लागेको बताए। कक्षा ८ को परीक्षा दिएर फूर्सदमा रहेकी लुटुङ महर्जन कुम्भेश्वरबाट ज्यापु समाजको भवनसम्म माटोकै सिप सिक्न धाइरहेकी छिन्। कक्षाका अन्य बालबालिकाभन्दा अलि ठूली उनले यसरी आफूखुसी माटोसँग खेल्दै आकृति बनाउन पाउँदा मन हर्षित हुने र साँझ फर्कंदा उत्साहित हुने बताइन्।
ज्यापु समाजमा आबद्ध ४० टोलका बालबालिकालाई पहिलोपल्ट माटोका सामग्री बनाउने सिप सिकाइएको हो। तालिमका लागि आह्वान गर्दा यति धेरै बालबालिका सहभागी होलान् जस्तो नलागेको प्रशिक्षक गौतम बताउँछन्। उनले सहभागी बालबालिका धेरै भएपछि यसपल्ट ४५ जनालाई सिप सिकाइएको बताए। ललितकलाबाट माटोका विभिन्न सामग्री बनाउन सिकेका गौतमले खुसी हुँदै भने, ‘दुई साताको भने पनि प्रशिक्षण लामै होला जस्तो छ। प्रशिक्षणका लागि आएका धेरैमध्ये हामीले ४५ जनामात्र लियौं।’
प्रशिक्षणमा सहभागी बालबालिकाले कछुवा, कुकुर, हात्ती, फूल, गमला, घर र विभिन्न भगवानलगायत आफूलाई मनपर्ने सामग्री बनाएका छन्। माटोका सामग्री बनाउने विद्यालयको पाठ्यक्रममै भए पनि प्रयोगात्मक गर्न नपाएका बालबालिकाका लागि सिक्ने अवसर भएको ज्यापु समाजका व्यवस्थापक रविन महर्जनले बताए। उनका अनुसार बालबालिकाले बनाएका माटाका सामग्री प्रदर्शन र बेचबिखन गर्ने योजनामा ज्यापु समाज छ। ‘बालबालिकाले बनाएका सामग्रीको औपचारिक प्रदर्शन र बेचबिखन गरी संकलन हुने रकम भूकम्पपीडित र वृद्धवृद्धाका लागि खर्च गर्न छलफल भैरहेको छ,’ रविनले भने।
नेवार समुदायमा माटोको कामको पहिचान भएकाले पनि कार्यशालामा आर्कषण बढेको ज्यापु समाजले जनाएको छ। समाजका अनुसार पहिलोपल्ट भएकाले प्रशिक्षार्थीबाटै लागत उठाएर कार्यशाला सञ्चालन गरिएको हो। ‘नेपाली धर्म, संस्कृति र कलाबारे बालबालिकालाई जानकारी दिन समेत कार्यशाला सहयोगी भएको छ,’ रविनले भने।
समाजका अनुसार कक्षाको अन्तिम दिन प्रयोगात्मक परीक्षा सञ्चालन गरिने छ। परीक्षामा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कृत गर्ने समाजले जनाएको छ।
साभारः नागरिक अनलाइन