बालिकाको बलात्कारपछि हत्या भएको भन्दै माडी बन्द


madi-768x349२३, जेठ, चितवन । चितवनको माडीमा दुई बालिकाहरुको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले आज माडी बन्द गराएका छन् ।

माडी नगरपालिका वडा नम्बर– ६ रामराज्यपुरस्थित मजुवा सिंचाइँ पोखरीमा २० गते शनिबार बिहान १० बजे पिकनिक खान भनी घरबाट हिँडेका थिए । १० वर्षकी दिपिका सुनार र वर्ष ११ की दीपशीला परियारको शव पोखरीमा फेला परेको थियो ।

मृतक २ बालिका मध्ये १ जनाको गुप्ताङ्गबाट रगत आएको र शरीरका अन्य भागमा पनि रगत लागेको र आँखाको माथिल्लो भागमा चोटपटक देखिएकाले बालिकाहरुको बलात्कार पछि हत्या गरेर फालेको हुन सक्ने स्थानीयको अनुमान छ ।

स्थानीयबासीले अनुसन्धानमा दबाव दिनका लागि सोमबार दिउँसो इलाका प्रहरी कार्यालय माडी घेराउ गरेका थिए । बालिकाहरुको हत्या भएको भन्दै उनीहरुले अपराधीलाई खोजी गरी तत्काल कारबाहीको माग गरेका छन् ।

घटनाका बारेमा थप बुझ्न भन्दै सोमबार जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापा, मुद्दा फाँटकी प्रहरी अनुसन्धान अधिकृत अञ्जना श्रेष्ठ, जिल्लाका महिला अधिकारकर्मी, डाक्टर र पत्रकारसहितको टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थल अवलोकनपछि स्थानीय र अधिकारकर्मीले बालिकाको बलात्कारपछि हत्या गरी पोखरीमा फालेको दाबी गरेका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले कसैले कर्तव्य गरेर बालिकालाई पोखरीमा फालेको हुन सक्ने भन्दै घटनाको सुक्ष्म तरिकाले अनुसन्धान हुनुपर्ने बताए ।

मृतक बालिकाहरुको भरतपुर अस्पतालमा पोर्टमार्टम गरिए पनि अझै रिर्पोट आएको छैन । चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बालिकाको अपराधिक गतिविधिबाट मृत्यु भएको हुन सक्ने आशंकामा ५ जना युवा र केही बालबालिकाहरुसँग पनि सोधपुछ गरिएको बताए ।

बन्दबाट जनजीवन प्रभावित

बन्दका कारण माडीबाट सदरमुकाम भरतपुर चल्ने र पर्साको ठोरी जाने सवारी साधनहरु रोकिएका छन् । माडी बजारसमेत बन्द छ । माडीबाट चल्ने लामा तथा छोटा दुरीका सबै सवारी साधन रोकिएका छन् । पसल,उद्योग धन्दा, शैक्षिक संस्थासमेत बन्द भएका छन् ।

बन्दका कारण स्नातक तेस्रो बर्षको परीक्षा दिन भरतरपुर जाने विद्यार्थीहरु प्रभावित भएका छन् । त्यसैगरी बगईदेखि बाँदरमँुढेको घटनाको सम्झनामा गर्न लागिएको कार्यक्रममा जानेहरुलाई पनि समस्या परेको छ ।

रहस्यमय मृत्युका सम्बन्धमा अनुसन्धान गरी घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै सोमवार माडीका बिधार्थीहरु र्‍यालीसमेत निकालेका थिए ।

साभारः अनलाइनखबर