अब कर्णाली प्रदेशलाई पछि परिरहन दिइने छैनः प्रधानमन्त्रि ओली


सुर्खेत, बैशाख २ ।

प्रधानमन्त्री ओलीले अब कर्णाली प्रदेशलाई पछि पर्न नदिने बताउनुभएको छ । प्रधानमन्त्री भएपछि पहिलो पटक कर्णाली प्रदेशमा आउनु भएका प्रधामन्त्री ओलीले विकासका दृष्टिकोणले र मानव विकास सुचाङकका रुपमा पछि परेको कर्णाली प्रदेशलाई केन्द्रले प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले अब कर्णालीमा विकासको गाडी तिव्र गतिमा अघि बढ्ने बताउनु भयो । ‘जिन्दगी भर एउटा घर कहिलेसम्म बनाइरहने ? विकास निर्माणका कामहरु छिटो र छरितो रुपमा गर्नुपर्छ । यस कारण र उस कारणले विकास भएन् भनेर भन्नुहुदैन्’ उहाँले भन्नुभयो, ‘ यस प्रदेशलाई कसरी बढाउने भनेर केन्द्र र प्रदेशले सोचेको छ । यहाँको विकासको गाडीको इन्जिन ठिक छ, अब विकासको गति अघि बढ्छ । हामीले अब विकास गर्नेपर्छ ।’
उहाँले कर्णाली प्रदेशमा कृषिको सम्भावना भएको बताउँदै कृषिको आधुनिकरणतर्फ सरकार केन्द्रित हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कर्णालीका जडिबुटीको पहिचान, प्रशोधन, वितरण र प्रयोगमा ध्यान दिनुपर्ने पनि बताउनुभयो । कर्णाली प्रदेशलाई अर्गानिक बनाउन पनि लाग्नुपर्ने ओलीको भनाई छ ।
अब कर्णाली प्रदेशका सबै जिल्लाहरुमा सुर्खेतदेखि सीधै हवाई सेवा जोडिने पनि प्रधानमन्त्री ओलीको दाबी छ । देश विकासका लागि जनप्रतिनिधीहरुले अब नेतृत्वदायी भुमिका खेल्नुपर्ने उहाँको भनाई छ । साथै उहाँले कृषि, जडिबुटी, स्वास्थ्य, पर्यटन, कृषिको विकासका लागि नयाँ ढंगले सोच्न पनि जनप्रतिनिधीलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्माणधिन केन्द्री कार्यालयको भवनको पनि अनुगमन गर्नुभएको छ ।