व्यवस्थापिका संसद्को विकास समितिले १५ दिनमा १२० मिटरभित्र जेब्राक्रस राख्न निर्देशन दिएको छ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उपत्यकाभित्रका सडकहरुको अहिलेको अवस्थालाई यथाशीघ्र सुधार गर्न गर्दै कम्तिमा १२० मिटरको दु्रीमा एक जेब्राक्रस चिन्ह राख्ने गरी ७ दिनभित्र मापडण्ड बनाई जेब्राक्रस बनाउने काम १५ दिनभित्र गरिसक्न विकास समितिले सम्बनिधत निकायलाई निर्देशन दिएको हो।
समितिले जेब्राक्रससँगै ट्राफिक चिन्हहरु (गतिनिर्धारण चिन्ह, लेन लाइन, चढ्ने ओराल्ने चिह्न, ब्लाक स्पट चिह्नहरु आदि) राख्ने काम २ महिनाभित्र गरिसक्न समेत सरोकारवालालाई निर्देशन दिएको छ। निर्देशन लगत्तै सडक विभागका महानिर्देशक गोपाल सिग्देलले १५ दिनभित्रै जेब्राक्रस बनाइसक्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाकाको आर्थिक वर्ष २०७३÷७४ को तथ्यांक हेर्ने हो भने सडक नियम उल्लंघन गरेका कारण कारबाहीमा पर्नेको संख्या ३ लाख २३ हजार ७ सय ९१ छ। जसमध्ये १ लाख २४ हजार ७ सय ५४ ले लेन अनुशासन भंग गरेका छन्। यसैगरी, जेब्रा क्रसिङमा नरोकेका कारण कारबाहीमा पर्नेको संख्या ६ हजार ७ सय ९९ छ।
ट्राफिकका अनुसार, आर्थिक वर्ष २०७२-७३ मा उपत्यकामा ५ हजार ६ सय ६८ सवारी दुर्घटनामा परेका छन्। जसमा १ सय ६६ को मृत्यु भएको छ भने २ सय ७५ गम्भीर र बाँकी ३ हजार ९ सय १ जना सामान्य घाइते भएका थिए।
यस्ता दुर्घटना हुनुमा लेन अनुशासन तोड्ने प्रवृत्तिका साथै सडक तथा फुटपाथ अतिक्रमण गरी पसल र निर्माण सामग्री राख्नु, लामो समयदेखि ट्राफिक लाइट बिग्रनु, पार्किङ व्यवस्थित नहुनु, जेब्राक्रशमा सवारीचालक, पैदलयात्रु सचेत नहुनु, पैदलयात्री र साइकल चलाउनेलाई छुट्टै लेन नहुनुजस्ता कारण रहेको ट्राफिकको भनाइ छ।
जेठ १६ गतेदेखि सडकमा जथाभावी पैदल हिँड्नेलाई ट्राफिक प्रहरीले कारबाही सुरु गरेकोमा २५ गतेसम्ममा २० हजार ६ सय ७ जनालाई कारबाही गरिसकेको छ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पनि दुर्घटनाको मूलकारण ऐन भए पनि कार्यान्वयन नहुँदा नै भएको बताउनुभयो। ‘नियम उल्लंघन गरे पनि त्यसलाई प्यारालाइज्ड गर्छु भन्ने प्रवृत्ति हुञ्जेल दुर्घटना रोकिन्नँ, यहाँ नजान्ने र नबुझ्नेभन्दा जान्ने र बुझ्नेबाटै धेरै ट्राफिक नियम उल्लंघन भएका छन्’, भीआइपी र सरकारी सवारीतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘जरिवानालाई धेरै गुणा नबढाए यस्तै रहिरहन्छ तर बढाउँदा आफैं परिन्छ भन्ने डरले हुन्न भन्ने कुरो पनि ठुलाबाटै आउँछ।’ बढी जरिवाना गर्ने हो भने नियम मिच्ने कम हुने र महिनामा बढीमा सात, आठवटा मात्र दुर्घटना हुने उहाँको भनाइ छ।
विकास समितिका सभापति रविन्द्र अधिकारीले अतिविशिष्ट व्यक्तिहरु (बिग फाइभ) को आवागमन हुने समयमा सृजना हुने सवारी समस्याप्रति आमनागरिकमा नकारात्मक धारणा अभिवृद्धि भएको देखिएको र यस्तो समयमा सवारी यातायात प्रणाली व्यवस्थापनमा कठिन हुने देखिएको बताउँदै उनीहरु सबैले ट्राफिक नियम परिपालना नगरे कारबाही गर्न निर्देशन दिनुभयो।
विकास समितिका सभापति अधिकारीले भन्नुभयो, ‘यस सम्बन्धमा आवश्यकताअनुसार सरलीकरण गर्न, मापदण्ड÷कार्यविधि बनाई कार्यान्वयन गर्न र अन्य विशिष्ट व्यक्तिहरुले ट्राफिक नियमको परिपालना नगरे कानुनबमोजिम कारबाही गर्न÷गराउन विकास समिति गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी, महानगरीय ट्राफिकप्रहरी महाशाखालगायत सम्बद्ध निकायलाई निर्देश गर्दछ।’
साभारः अन्नपूर्णपोष्ट अनलाइन



Prawash Kumar Shakya । २६ जेष्ठ २०७४, शुक्रबार १३:२४ बजे