
काठमाडौं—मेडिकल क्षेत्र सुधारका लागि प्रयासरत डा.गोविन्द केसीले चिकित्सा शिक्षा ऐन पारित र त्रिवि पदाधिकारी बर्खास्त गर्नु पर्नेसहितका माग राखेर अनसन सुरु गरेका छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको इएनटी बिल्डिङ, तेस्रो तला लबीमा भेला भएका सञ्चारकर्मीबीच आफ्ना माग पढेर सुनाउँदै उनले अनसन थालेका हुन्।
मेडिकल माफियाविरुद्ध संघर्षरत उनको यो ११ औं अनसन हो।
सरकारले दुई दिन अगाडि डा.केसीलाई पत्र पठाउँदै माग पूरा गर्ने प्रक्रिय रहेको हुँदा अनसन नबस्न आग्रह गरेको थियो। डा.केसीका मागसहितका विषयमा छलफल गर्न संसदको महिला बालबालिका तथा समाजकल्याण समितिले भोलि मंगलबार ३ बजेलाई बोलाएको छ।
आज बिहान पूर्वस्वस्थ्यमन्त्री गगन थापासहित त्रिवि उपकूलपति तीर्थ खनियाँ र केसी पक्षीय चिकित्सकहरुको बैठक गरी समाधान खोज्ने प्रयास भएको थियो। त्यही बैठकमा गरेको प्रतिबद्धताअनुसार त्रिविले सोमबार दिउँसो आइओएममा क्याम्पस प्रमुखलगायतका रिक्त पदाधिकारीको नियुक्ति गरेको थियो।
सो क्रममा त्रिविले आइओएमको खोसिएको भनिएको अधिकार आइओएमको प्रस्ताव आधारमा फिर्ता गर्ने बचनसमेत उपकुलपति खनियाँले दिएका थिए। गत वैशाखमा त्रिविले नियमावली संशोधन गरी शुल्क र सिट निर्धारणको अधिकार आइओएमबाट खोसेको थियो। डा.केसीले भने राजनीतिज्ञ तथा त्रिवि पदाधिकारीहरुको बोली र व्यवहारको ठेगान नभएको भन्दै सर्वसाधारणलाई आफूले उठाएका मुद्दामा साथ दिएर अघि बढ्न अनसनको विकल्प नभएको उल्लेख गरेका छन्।
उनको ११ औं अनसनको मुख्य माग चिकित्सा शिक्षा ऐन पारित र त्रिवि पदाधिकारी बर्खास्त रहेका छन्।
साभारः नागरिकअनलाइन



Prawash Kumar Shakya । ९ श्रावण २०७४, सोमबार ११:२२ बजे