ठेक्का रद्द गर्ने सरकारी चेतावनी


मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत भइरहेका निर्माणका काम समयमा पुरा नगर्ने कम्पनीहरुको ठेक्का रद्द गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।
राष्ट्रिय गौरवका आयोजना अन्तर्गत ५ बर्षमा निर्माण पुरा गर्ने लक्ष्य लिइएको मध्य पहाडी लोकमार्गका सडक, पुल लगायतका संरचना निर्माण गर्ने ठेकेदार काममा नआएपछि सरकारको पछिल्लो चेतावनी आएको हो।
यसअघि सरकारले निर्माणको जिम्मेवारी पाएका ठेकेदारहरुलाई काममा फर्कन सार्वजनिक सूचना जारी गरेको थियो।
पूर्व र पश्चिम खण्ड गरी करिव १८ सय किलोमिटर बाटो निर्माणमा एक सय भन्दा बढी ठूला र साना कम्पनीहरुले काम गरिरहेको सरकारले जनाएको छ।

चेतावनी

मध्यपहाडी लोकमार्ग जिम्मा लिएका कतिपय ठेकेदार कम्पनीहरु सम्पर्कमा नआएपछि सरकारले उनीहरुलाई छिटो काममा फर्किन सार्वजनिक सूचना नै जारी गरेको छ।
त्यसपछि पनि सम्पर्कमा नआए त्यस्ता कम्पनीहरुको ठेक्का रद्द गरिने आयोजनाका अधिकारीहरुले बताएका छन्।
मध्यपहाडी लोकमार्ग आयोजनाका पश्चिम खण्डका आयोजना प्रमुख सुर्यबहादुर भाटले भने,”ठेक्कामा जुन सम्झौताका आधारहरु छन् त्यसको अधिनमा रहेर तोडिने हो। पाएको जिम्मेवारी पूरा नगरेपछि सम्झौता तोड्ने बाटो प्रशस्त भइहाल्छ।”
त्यसमा सडक काट्ने, कालोपत्रे गर्ने, नाली निर्माण र पुल निर्माण जस्ता ९० प्रतिशत भन्दा वढी काम ठेकेदार कम्पनीहरुले गर्दछन्।

असर

सरकारले ताकेता गरेपछि थुप्रै कम्पनीहरु फर्केको भएपनि काम रोकिंदा आयोजनाको लक्ष्यमा असर परिरहेको पूर्वी खण्डका आयोजना प्रमुख अयोध्याप्रसाद श्रेष्ठ बताएका छन्।
उनले भने,”खुर्कोट-घुर्मी सडक खण्डमा झण्डै ४२ किलोमिटर बाटो बनिसकेको छ, तर त्यहां हाल्नु पर्ने दुईवटा पुल ठेकेदारहरुले बनाएका छैनन्। भोली पीच कालोपत्रे चांही हुने तर पुल भएन भने त हामीलाई अप्ठेरो परिहाल्छ नि। त्यसैले हामीले अहिले नै ठेकेदारहरुलाई दबाब दिइरहेका छौं।”
राष्ट्रिय गौरवको आयोजनामा परेको यो परियोजना २०६४ सालदेखि शुरु भएको थियो। योजना अबको ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको अधिकारीहरुले बताएका छन्।
राष्ट्रिय गौरवका कार्यक्रमहरुमध्ये छिटो प्रगती भएको परियोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको काम २५ प्रतिशत पूरा भइसकेको बताइएको छ।
सभार : विविसी