रक्तदानमै रमाएका गोपीलाल


कृष्ण अधिकारी
नेपालगञ्ज, २१ बैशाख । ३८ बर्ष पहिलेको कुरा हो । उनलाई एक अपरिचित व्यक्तिले रगत दिएर THE TRITNAआफ्नो श्रीमतीको जीवन बचाइदिन हात जोडे । उक्त पीडा र आशा मिश्रित अनुरोधलाई गोपिलालले टार्न सकेनन् र जीवनमै पहिलो पटक रक्तदान गरे । आफुले दिएको रगतकै कारण गम्भिर अवस्थामा पुगेकी सुत्केरीले नयाँ जीवन पाएपछि उनको खुशी र सन्तुष्टीको सीमा नै रहेन । त्यो दिनसँगै सुरु भएको गोपिलालको रक्तदान अभियान अविछिन्न रुपमा अझै जारी छ । 
नेपालगञ्जको घरबारी टोल निबासी ५८ वर्षीय गोपीनाथ वैश्यले जीवनमा पाएको यो भन्दा ठूलो सन्तुष्टि अरु केही छैन । उनले अहिले सम्म (२०७३ बैशाख सम्म ) १ सय  ४६ पटक  रक्तदान गरी सकेका छन् । उनी संभवत नेपालमै सर्वाधिक रक्तदान गर्ने व्यक्ति हुन । उनको ब्लड गु्रप ‘ओ पोजेटिभ’ हो ।
नेपालगन्ज नगरपालिकामा फायरमेनको रुपमा लामो समय काम गरेर गोपीलाल उमेर ५८ बर्ष पुगेपछि गत असोजमा रिटायर्ड भए । गोपिलालले हरेक तीन तीन  महिनामा रक्तदान गर्छन । गोपीलाल भन्छन ‘फायरमेनबाट रिटायर्ड भए पनि रक्तदाताबाट त रिटायर्ड भएको छैन । स्वास्थ्यले साथ दिँदासम्म  रक्तदान गर्न चाहान्छु ।’ गोपीलालको रक्तदान गर्ने उत्साहमा  अझै कुनै कमी आएको छैन ।
असहाय दुःखी र आपतमा परेकालाई रगत दिएर उनीहरुको जीवनलाई जोगाउने अबसर पाउनु नै मेरो लागि सबै भन्दा बढी खुशीको क्षण हो । आपतमा परेकालाई सहयोग गर्ने अबसर पाउनु नै मेरो लागी सौभाग्य हो । उनी भन्छन ‘म त उनीहरुकै आर्शिवादले  बाँचिरहेको छु ।’
नेपालगन्जको घरबारी टोलमा बसोबास गर्ने वैश्य परिवारको आर्थिक अवस्था भने कमजोर  छ । दिनभरी काम गरे पछि मात्र मुस्किलले साझ बिहान खान पुग्छ ।  फायरमेनबाट भर्खरै रिटार्ड भएका गोपीलाल कामको खोजीमा छन ।  १ सय ४६ पटक रक्तदान गरि सकेका वैश्यले रेडक्रसबाट थुप्रै पटक सम्मान पाएका छन ।  तर राज्यले भने उनको मानवसेवालाई खासै महत्व दिएको छैन । राज्यबाट कुनै सम्मान र सहयोग नपाए पनि उनको कसैसँग कुनै गुनासो छैन । उनी भन्छन ‘हाम्रो  देशमा पहुच नहुनेले कहिले पो राज्यबाट सम्मान  पाएका छन र ?’   उनले अझे सन्तुष्ट भावका साथ भने ‘साँझ बिहान छाक टार्न सकेकै छु, सयौं बिरामी र उनका आफन्तजनको आर्शिवाद पाएकै छु, रेडक्रस र संचारकर्मीबाट  पाउने माया र सम्मान पाएकै छु ।’
रक्तदान गर्दा रगत सकिन्छ भन्ने साँघुरो सोच राखेका पढेलेखेकाहरुले अनवरत रक्तदानमा लागेका वैश्यबाट पाठ सिक्न जरुरी छ ।